चुम्बन २ करोड वर्षअघि सुरु भएको नयाँ अध्ययनको निष्कर्ष

चुम्बनको उद्विकासको गुत्थी खुल्यो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते १४:२१
Image of https://mayorsap.com/storage/photos/shares/monkey-glfacxuxj5.jpg

एजेन्सी । विभिन्न प्रजातिका प्राणीहरूले गर्ने चुम्बनको विकास कसरी भयो भन्ने गुत्थी फुकाउने प्रयासमा अनुसन्धानकर्ताहरूले नयाँ अध्ययन सार्वजनिक गरेका छन् ।

भावनात्मक र सांस्कृतिक महत्त्व राखे पनि चुम्बनले संक्रामक रोग फैलाउन सक्ने अनुसन्धानकर्ताहरू बताउँछन् ।

अक्सफोर्ड विश्वविद्यालयका विज्ञहरूले प्राइमेट (ढेडु, बाँदर, मानवलगायत) को वंशावली वृक्षको आधारमा अन्तर–प्रजाति विधि प्रयोग गरी चुम्बनको उद्विकास इतिहास पुनर्संरचना गरेका छन् ।

ठूला ढेडुहरूमा करिब २ करोड १५ लाख वर्षदेखि १ करोड ६९ लाख वर्षअघि पहिलो पटक चुम्बनको गतिविधि सुरु भएको देखियो । उद्विकासका क्रममा धेरैजसो ठूला ढेडुहरूमा चुम्बन सँधै कायम रहेको पाइएको छ ।

अध्ययनले लोप भएका हाम्रा निकटतम नातेदार निएन्डरथल पनि चुम्बनमा संलग्न हुने गरेको सम्भावना उच्च देखाएको छ । यसले मानव र निएन्डरथलबीच यौन सम्बन्ध भएको र मुखबाट जीवाणु साटासाट भएको पूर्वअनुसन्धानलाई समर्थन गर्छ ।

डा. मटिल्डा ब्रिन्डलले उद्विकासको दृष्टिबाट गरिएको यो पहिलो परीक्षण भएको बताउँदै यो अध्ययनले प्राइमेट नातेदारहरूको यौन व्यवहारको विविधतालाई उजागर गरेको बताइन् ।

अनुसन्धानका लागि टोलीले चुम्बनलाई आक्रमणको उद्देश्य नराखिएको, मुख र मुख जोडिने तथा खानेकुरा हस्तान्तरण नहुने गतिविधिका रूपमा परिभाषित गरेको थियो ।

यद्यपि, चुम्बन केवल ४६ प्रतिशत मानव संस्कृतिहरूमा मात्र पाइएकाले यो उद्विकासको प्रक्रियाबाट आएको व्यवहार हो वा सांस्कृतिक आविष्कार भन्ने प्रश्नको सम्बोधन गर्ने यो पहिलो चरण मात्र भएको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

उक्त प्रतिवेदन ‘इभोलुसन एण्ड ह्युमन बिहेवियर’ मा प्रकाशित भएको छ ।


Facebook Comments