बाजुराका ‘पाउरोटी बड्डा’: जो डोकोमा पाउरोटी बेचेर मासिक ५० हजार कमाउँछन्

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ८ गते ०४:११
Image of https://mayorsap.com/storage/photos/shares/1000042843.jpg

गोविन्द्र राज तिमिल्सेना

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका–९ अंगाउपानीका रनबहादुर रोकाया पाउरोटी व्यवसाय गरेर उदाहरणीय बनेका छन् । ‘पाउरोटी बड्डा’ नामले परिचित रोकाया बाजुराबासीलाई पाउरोटी चिनाउने व्यक्तिको रुपमा समेत चिनिन्छन् ।

१९ वर्षदेखि पाउरोटी व्यवसायमा संलग्न रोकाया उमेरले ७२ वर्षका भए, तर जोशजागर भने घटेको छैन । 

विगतका दिनहरुमा हरेक दुःख कष्ट झेल्दै आएका रोकायाले अहिले असल व्यवसायकर्मीको रुपमा आफूलाई चिनाउनुका साथै सबैको प्रेरणाको स्रोत समेत बनेका छन्।

भारतमा मजदुरी गरेर घर परिवारको पेट पाल्दै आएका उनले १९ वर्षअघि त्यहाँको काम छोडर आफ्नै जन्मभूमि फर्किएर व्यवसाय सुरु गरेका थिए । अहिले उनलाई पाउरोटीको व्यवसायले गाउँघरमा परिचित बनाउनुका साथै आत्मनिर्भर समेत बनाएको छ । व्यवसायबाटै उनले आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिएका छन् । 

अहिले पनि उनले दुई नाति, एक नातिनी र एक छोरीलाई आफैंले पढाइरहेका छन् । पाउरोटी बेचेरै उनको घरधन्दा चलेको छ। बिहान ४ बजेदेखि उनको व्यवसाय सुरु हुन्छ। पाउरोटी, डुनोट बनाएर सकेपछि उनी डोकोमा हालेर बेच्नका लागि बजार निस्कन्छन्।

उनले ताजा पाउरोटी, डुनोट १० देखि १५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन्। पहिले बाउलीमा व्यवसाय सञ्चालन गर्दै आएका उनले अहिले बडिमालिका–८ रावलवाडा डाँडामा कोठा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्। 

व्यवसायबाट मासिक ५० हजार बढी आम्दानी हुने गरेको उनको भनाइ छ। आम्दानी भएको रकमबाट कोठाभाडा तिरेर अन्य सर–सामान किन्दा न्युनतम १० हजारसम्म बचत हुने गरेको रोकायाले बताएका छन्। आफूभित्रको इच्छाशक्ति, क्रियाशीलता, निरन्तरता र मेहनतले नै सानो व्यवसाय चलिरहेको रोकायाको भनाइ छ।

पाउरोटी उत्पादन सँगसँगै बजारीकरणका लागि पनि उनी आफैं हिँड्ने गरेका छन्। रोकाया भन्छन्, ‘बिहानै ताजा पाउरोटी र डुनोट डोकामा हालेर बेच्न बजार जान्छु।सबेरै सबै पसलमा पुग्दा नास्ताको लागि ग्राहक बसेका हुन्छन् र सबै पसलेले किन्ने गर्छन्।’

मानिसका लागि कुनै पनि पेशा व्यवसाय सानो ठूलो हुँदैन भन्ने धेयका साथ काममा निरन्तर लागिरहेको उनको भनाइ छ। दिनहुँ पाउरोटी व्यवसायबाट न्युनतम दुई हजारदेखि पच्चिस सय आम्दानी गर्ने गरेको उनको भनाइ छ। मासिक पचास हजार भन्दा बढीको दरले वार्षिक छ–सात लाख आम्दानी हुने गरेको उनले बताए ।

उनका अनुसार, उनलाई पाउरोटी व्यवसाय सञ्चालनका लागि पाउरोटी पकाउने मेसिन घरेलुले २०७४ सालमा ८० हजार बढीको लागतमा उपलब्ध गराएको थियो । त्यसपछि धुलो मिच्ने मेसिन उनले ८० हजार लागतमा आफैंले किने र व्यवसाय सुरु गरे । 

 


Facebook Comments