प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा गाउँपालिकाका महिला

सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ११ गते १०:३४
Image of https://mayorsap.com/storage/photos/shares/pauwadungma.jpg

भोजपुर । पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । 

गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको हो । 

गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, सागसब्जी तथा फलफूलखेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालनलगायत कार्यक्रमसञ्चालन भएका छन् । 

“हामीले महिला उद्यमशीलतालाई मुख्य उद्देश्य बनाएका छौँ”, उनले भनिन्, “दिदी–बहिनीको इच्छा, सीप र क्षमताअनुसार कार्यक्रम अगाडि बढाएका छौँ । अहिले धेरै महिलाहरू आयआर्जनमा सक्रिय छन् । भविष्यमा अझ विविध कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”

गाउँपालिकाले महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेपछि उद्यममा जोडिन सहज भएको स्थानीय देउकुमारी तामाङले बताइन् । गाईपालनबाट आफूले मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्न थालेको उनले बताइन् । “गाउँपालिकाले महिला विकास बोर्डमार्फत सञ्चालन गरेको कार्यक्रमले हामी महिलालाई प्रत्यक्ष लाभ पुगेको छ”, उनले भनिन् ।  

गाउँपालिका उपाध्यक्षको ‘नेतृत्वमा महिला विकास बोर्ड’ नै गठन गरेर महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाबाट सञ्चालन हुने हरेक कार्यक्रममा महिलालाई अनिवार्य सहभागी गराउने व्यवस्था छ ।  


Facebook Comments