हेटौंडा सडक विस्तारः विस्थापित व्यवसायीलाई बसपार्क र तरकारी बजार क्षेत्रमा सार्ने तयारी
हेटौंडा । हेटौंडामा मङ्सिर २० गतेदेखि हुन लागेको २५–२५ गज सडक विस्तारका क्रममा प्रभावित हुने व्यवसायीका लागि वैकल्पिक व्यवस्थापन गर्ने तयारी भएको छ। हेटौंडा उपमहानगरपालिकाका अनुसार सडक डिभिजन कार्यालयले अघि बढाएको विस्तार योजना कार्यान्वयन भइरहँदा बजार क्षेत्रमा रहेका व्यवसायीलाई अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको हो।
उपमहानगरका अनुसार हेटौंडा बसपार्क परिसरका ४० वटा सटरमा मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा विस्थापित व्यवसायीलाई राख्न सकिने व्यवस्था गरिएको छ। यस्तै, हेटौंडा–११ स्थित तरकारी, फलफूल तथा थोक बजारका लागि निर्माण भएका ६० कोठा पनि आवश्यकताअनुसार व्यवसायी समायोजनका लागि उपलब्ध गराइने उपमहानगरले जनाएको छ ।
यससँगै भुटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरहरूमा समेत प्रभावित व्यवसायीलाई पुनःस्थापना गर्न सकिने उपमहानगर स्रोतले जनाएको छ। उपमहानगरका अनुसार बजार क्षेत्रमा व्यापार सञ्चालन गरिरहेका धेरैजसो व्यापारीहरूले आफूले नै वैकल्पिक व्यवस्था गरिसकेका छन्।
सडक विस्तारको तयारीसँगै लामो समयदेखि खाली रहेका नारायणी महलका सटरहरू अग्रिम बुक गर्न व्यापारीहरू सक्रिय देखिएका छन्। साथै बजार क्षेत्रमा खाली रहेका विभिन्न सुपरमार्केटका ठाउँहरूमा पनि विस्थापित व्यापारीलाई समायोजन गर्न सकिने उपमहानगरको भनाइ छ।
विस्थापित व्यवसायीहरूको पुनर्स्थापनालाई सहज बनाउन हेटौंडा उपमहानगरपालिकाले मकवानपुर उद्योग वाणिज्य संघलाई सहयोग र समन्वयका लागि आग्रह गरेको जनाएको छ।
Facebook Comments