तीन दिनदेखि गाडीसहित बेपत्ता केसीको शव भेटियो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १६ गते १४:२९
Image of https://mayorsap.com/storage/photos/shares/68fb346703993_1.jpg

उदयपुर । तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४ पाखेमारा भीरमा भेटिएको छ । 

इलाका प्रहरी कार्यालय कटारीकाअनुसार  सोमबार साँझ सडकबाट तीन सय मिटर तल सुमो क्षतिग्रस्त रुपमा भेटिएको थियो । क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भिरबाट शव निकालेर शव परीक्षणका लागि कटारी अस्पताल ल्याएको छ । ना १ ज ५८१२ नं को सुमो लिएर १३ मङ्सिरमा केसी उदयपुरको ताप्ली गाउँपालिका रुपाटार जान्छु भनी हिँडेका थिए ।

रुपाटारमा विवाहका लागि जन्ती जान रिजर्भ भएकाले केसी एक्लै सुमो लिएर निस्किएका थिए । शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा ‘इन्ट्री’ गरेर आएका केसी रातिदेखि सम्पर्कविहिन भएका थिए । कटारी–१४ घुर्मी नजिकसम्म आइपुगेको जानकारी गराएपछि उनी बेपत्ता भएको सिन्धुलीको दूधौलीमा रहेकी श्रीमती सुशीला कार्कीले बताइन्।

फोन लाग्ने तर नउठ्ने भएपछि स्थानीय, प्रहरी लगायतले कटारी– १४ आसपासमा खोजी गरेका थिए । खोजीका क्रममा सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डको पाखेभीरमा शव फेला पारेको हो। केसी रातिको १२ बजेतिर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीको छ । पाखेभीर आसपास गाउँ नभएको र अनकन्टार भीर भएकाले घटनाबारे कसैले पनि थाहा पाउन सकेका थिएनन् । 


Facebook Comments