धुलोरहित बन्दै काठमाडौं, ५५ किलोमिटर सडक कालोपत्रे

महानगरको ‘धुलोरहित सडक’ अभियान

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते १२:१६
Image of https://mayorsap.com/storage/photos/shares/ktm-mahanagar.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाको गौरवको बहु–वर्षीय योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत हालसम्ममा ५५ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो ३ वर्षे कार्यक्रमको कुल लागत रु २ अर्ब ५२ करोड ४७ लाख रहेको छ ।

महानगरले काठमाडौंलाई चार भागमा (पूर्व, पश्चिम, उत्तर, मध्य) विभाजन गरेर यो परियोजना सञ्चालन गरेको छ ।

पूर्वी क्षेत्रमा १८ किमि सडक कालोपत्रे र ३.५ किमि ढलान भएको छ । यसमा वडा नं ६ को सिमलटार, ९ को बत्तीस पुतली र ३२ को महादेवस्थान–कोटेश्वर लगायतका सडकहरू समेटिएका छन् ।

उत्तरी क्षेत्रतर्फ २३ किमि सडक कालोपत्रे र ३ किमि ढलान भएको छ । वडा नं १ को दरबारमार्ग, ३ को बाँसबारी, ४ को बालुवाटारका भित्री सडकहरूमा काम सम्पन्न भएको छ ।

मध्य क्षेत्रतर्फ ४.५ किमि सडक कालोपत्रे भएको छ । यसमा भोटेबहाल र विष्णुमती करिडोर क्षेत्रका सडकहरूमा काम भएको छ ।

पश्चिमी क्षेत्रमा सबैभन्दा ढिलो सम्झौता भएको यस क्षेत्रमा अहिलेसम्म डेढ किमि सडक कालोपत्रे भएको छ । यस क्षेत्रमा बालाजु बाइपाससहित विष्णुमती कोरिडोर लगायतका सडकमा काम हुनेछ ।

यो कार्यक्रम अन्तर्गत खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, ढल मर्मत गर्ने तथा कालोपत्रे र ढलान गर्ने जस्ता कामहरू भइरहेका छन् ।


Facebook Comments