पारदर्शितामा प्रश्न उठाउँदै नरैनापुरबासीले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए ज्ञापनपत्र

माग पूरा नभए वडादेखि पालिकासम्म ‘कब्जा’ गर्ने चेतावनी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २२ गते १६:२८
Image of https://mayorsap.com/storage/photos/shares/nairanapur.jpg

बाँके । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले ज्ञापन–पत्र बुझाएका छन् । प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णय भएकाले उक्त गतिविधि रोक्न माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । 

विकास निर्माण कार्य, प्रशासनिक सेवा र सामाजिक क्षेत्रका गतिविधिमा देखिएको अस्वाभाविक ढिलासुस्ती, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट दुरुपयोग तथा कर्मचारीबीचको निरन्तर विवादले सेवा–प्रवाह नै बिग्रिएको हुँदा सुधार गर्न आवश्यक रहेको उनीहरुको भनाई छ ।

ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समिति नबन्नु, विषयगत शिक्षक अभाव, शिक्षकहरूको सामाजिक सञ्जालमार्फत राजनीतिक क्रियाकलाप, विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने गतिविधि तथा अनुगमन कमजोर हुनुले शिक्षाको गुणस्तर खस्किँदै गएको समेत उल्लेख गरिएको छ ।

विशेषतः गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामग्री वितरण जस्ता विषयमा मनपरी र अपारदर्शी खर्च भएको उनीहरुको भनाई छ । 

ज्ञापनपत्रमार्फत उठाइएमा मागहरु सम्बोधन नभए मङ्सिर २४ र २५ गते कालोपट्टीसहित २ घण्टा शान्तिपूर्ण धर्ना दिने तथा सोही म्यादभित्र प्रतिक्रिया नआए मङ्सिर २६ गतेबाट गाउँपालिका र वडा कार्यालय ‘कब्जा’ गर्ने चेतावनी समेत दिइएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जेनजी पुस्ताले उठाएका मागहरू नागरिक–मैत्री रहेको र केही मुद्दाहरू पहिले नै समाधान भइसकेको दाबी समेत गरे । 

उनले आफ्नो स्तरबाट तत्काल पूरा हुने मागहरू कार्यान्वयन गर्ने तथा बाँकी विषय कार्यपालिकाको बैठकबाट छिट्टै निर्णय गरिने प्रतिबद्धता समेत जनाए । 

 


Facebook Comments