आज साँझ ७ बजेसम्ममा सबैले पाउनेछन् आफ्नो चिन्ह

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १२:०२
Image of https://mayorsap.com/storage/photos/shares/nirwachan-aayog_1.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको छ ।

उम्मेदवारहरूको अन्तिम नामावली आजै दिउँसो १ देखि ३ बजेभित्र प्रकाशन गरिनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

हालसम्म देशभरबाट ३ हजार ४८५ जनाको उम्मेदवारी कायम भएको छ, जसमा ३ हजार ८८ पुरुष, ३९५ महिला र १ जना तेस्रो लिङ्गी उम्मेदवार छन् । यसैबीच, उजुरी र छानबिनका क्रममा दुई जनाको उम्मेदवारी खारेज भएको छ ।

कैलाली–१ बाट उम्मेदवारी दिएका रेशम चौधरी र काठमाडौं–१० बाट उम्मेदवारी दिएकी मितेरी पार्टीकी सुमित्रा बस्नेतको उम्मेदवारी रद्द भएको हो । सुमित्रा बस्नेत कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका कारण उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन् ।


Facebook Comments