विद्याकी देवी सरस्वतीको पूजा गरिँदै, मन्दिरहरुमा भक्तजनको घुइँचो
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १२:३०
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै छ ।
ज्ञान, बुद्धि र विवेककी देवी सरस्वतीको आशिष् थाप्न आज बिहानैदेखि काठमाडौँको नील सरस्वती, स्वयम्भू, मैतीदेवीलगायत देशभरका सरस्वती मन्दिरहरूमा भक्तजन र विशेष गरी विद्यार्थीहरूको ठुलो घुइँचो लागेको छ ।
शास्त्रीय मान्यताअनुसार आजका दिन सरस्वतीको पूजा गरेमा विद्या र कलामा निखार आउने विश्वास गरिन्छ । विशेष गरी साहित्यकार, कलाकार, पत्रकार र शिक्षकहरूले आफ्ना कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्ने गर्छन् ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भारती, शारदा, वागीश्वरी जस्ता विभिन्न नामले पुकारिन्छ ।
सूर्य उत्तरतिर लाग्ने र वसन्त ऋतुको प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजको दिन बालबालिकालाई अक्षरारम्भ गराउनु अत्यन्त शुभ मानिन्छ ।
सामान्यतया श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध र अन्य शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता भए पनि यस वर्ष शुक्र अस्त रहेकाले त्यस्ता कर्महरू भने नगरिएको धार्मिक जानकारहरू बताउँछन् ।
सरस्वतीलाई चढाइएको अक्षता निलेमा बुद्धि बढ्ने जनविश्वासका कारण पनि आज मन्दिरहरूमा श्रद्धालुहरूको उत्साहजनक उपस्थिति रहेको छ ।
Facebook Comments