हर्कले भने– ‘बालेनसँग भिजन छैन, रास्वपा भारतबाट बनेको पार्टी’
सुर्खेतबाट हर्क साम्पाङको गर्जन
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १५:१७
वीरेन्द्रनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि गम्भीर आरोप लगाएका छन् ।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले रास्वपा भारतको प्रयोजन र स्वार्थमा बनेको पार्टी भएको दाबी गरेका हुन् ।
उनले रास्वपाले देशको स्वाधीनताका पक्षमा कतै पनि नबोलेको भन्दै नयाँ भनिएका शक्तिहरूको राष्ट्रियतामाथि प्रश्न उठाए ।
पुराना दलहरूबाट देशको निकास असम्भव भइसकेको भन्दै उनले अबको विकल्प श्रम संस्कृति पार्टी मात्र भएको जिकिर गरे ।
‘मैले बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न प्रश्नहरू सोधेँ, तर कसैले पनि जवाफ दिने साहस गरेनन्,’ साम्पाङले भने ।
उनले जेनजी आन्दोलनका बेला आफूले मात्र देश सम्हाल्ने तागत देखाएको दाबी गर्दै देश बनाउने स्पष्ट भिजन अरू कुनै नेतासँग नभएको ठोकुवा गरे ।
इमानदार नेतृत्व र श्रमको सम्मान गर्ने संस्कृतिले मात्रै नेपालको विकास सम्भव हुने उनको भनाइ थियो ।
Facebook Comments