यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ९ निर्णय (सूचीसहित)

वैदेशिक लगानीको सीमा हटाइने

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १७:०८
Image of https://mayorsap.com/storage/photos/shares/photo-2-3552e23f.jpg

काठमाडौं । सरकारले तोकिएका उद्योग व्यवसायको क्षेत्रमा वैदेशिक लगानीको माथिल्लो सीमा हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू शुक्रबार सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले लगानीमैत्री वातावरण बनाउन यो निर्णय गरिएको जानकारी दिए ।

बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै, माघ २२ देखि २४ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने दक्षिण एसियाली कृषि सम्मेलनमा सहभागी हुन कृषि मन्त्री डा. मदन प्रसाद परियार र सचिवलाई स्वीकृति दिइएको छ ।

बैठकले गत भदौमा भएको प्रदर्शनका क्रममा भएको क्षतिको छानबिन गर्न गठित आयोगको म्याद २० दिन थप गरेको छ । साथै, बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टिमा परराष्ट्र मन्त्रीले गरेको भ्रमणलाई पनि सरकारले कार्योत्तर समर्थन गरेको छ ।

यस्ता छन् निर्णयहरु:–
१. सिद्धार्थ राजमार्ग बुटवल पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने,
२. तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग अटोमेटिक रुटबाट हुने विदेशी लगानीको माथिल्लो सिमा हटाउन स्वीकृति दिने,
३. भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखी २४ गतेसम्म सञ्चालन हुने फस्र्ट साउथ एसियन एग्रो फोरेस्ट्री एंड फ्रिज अर्थ साइड फोरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डाक्टर मदन प्रसाद परियार र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने,
४. २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,
५. नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुष १५ देखि १७ गते सम्म बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने,
६. नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपलब्ध गर्न स्वीकृति दिने,
७. नेपाल सरकारको नाममा दर्ता श्रेष्ठ कायम रहेको काभ्रेपलानचोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकलाई उपलब्ध गर्न स्वीकृति दिने,
८. मिति २०८१ फागुन २७ मा प्रतिनिधिसभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१ फागुन २७ गतेको अतिरिक्त अंक गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने,
९ . गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।


Facebook Comments