कमलामाईका मेयर पोखरेलको घरमा अख्तियारको छापा
काठ हिनामिना प्रकरण
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते ११:५४
सिन्धुली । सार्वजनिक सम्पत्ति हिनामिना गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा छापा मारेको छ ।
अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार सिन्धुलीमाढीमा रहेको पोखरेलको निवासमा खानतलासी गरेको हो ।
सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा निस्किएको सयौँ क्युफिट सरकारी काठ मेयरले हिनामिना गरेको उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको हो ।
नगर प्रहरी ब्यारेक पछाडि राखिएको उक्त काठ गायब पारेको आशङ्कामा अख्तियारको टोलीले पोखरेलसँग सोधपुछ समेत गरेको छ ।
छापा मार्ने क्रममा मेयरको घरमा काठ भने फेला नपरेको अख्तियारका एक अधिकृतले जानकारी दिएका छन् ।
घरमा काठ नभेटिए पनि हिनामिनाको विषयमा अन्य प्राविधिक र प्रशासनिक पाटोबाट विस्तृत अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Facebook Comments