श्रमिकको १ अर्ब ६९ करोडकाे खाेजी, पूर्वमन्त्रीदेखि सचिवसम्म पक्राउ!

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०३ गते ०९:५४
Image of https://mayorsap.com/storage/photos/shares/arrested_g8ZbKF0tpq_ZBzFzAwymg.jpg

काठमाडौं । वैदेशिक रोजगारीमा जान खोज्ने नेपाली श्रमिकले आफ्नै कमाइबाट शुल्क तिर्छन्, ऋण खोज्छन् र विदेश पुगेर परिवारको भविष्य बनाउने सपना देख्छन्। तर तिनै श्रमिकबाट उठाइएको रकम गैरकानुनी रूपमा संकलन गरी विदेश पठाइएको आरोपमा अब पूर्वमन्त्रीदेखि मन्त्रालयका उच्च अधिकारीसम्म प्रहरीको अनुसन्धानमा तानिएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ठगी तथा संगठित अपराधको कसुरमा पूर्वश्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना, मन्त्रालयका तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ र राजीव पोखरेल छन्।

राजीव पोखरेल अहिले यातायात व्यवस्था विभागका महानिर्देशक हुन्। उनी श्रम मन्त्रालयमा कार्यरत रहँदाको भूमिकालाई लिएर पक्राउ परेका हुन्। यसअघि यस प्रकरणमा व्यवसायी कैलाश खड्कालगायत व्यक्ति पनि पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीविपरीत नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरिएको थियो। त्यसरी उठाइएको रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्डसमेत ठूलो परिमाणमा मलेसिया पठाउने निर्णयमा पक्राउ परेकाहरू संलग्न रहेको आरोप छ।

प्रहरीको दाबीअनुसार कानुनी प्रक्रिया पूरा नगरी, आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर विदेशी मुद्रा अपचलन गराइएको थियो। सरकारी पद र जिम्मेवारीको दुरुपयोग गर्दै संगठित समूहलाई लाभ पुग्ने गरी निर्णय गरिएको आरोप पनि उनीहरूमाथि छ।

यो अनुसन्धान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसँग सम्बन्धित निकायबाट प्राप्त पत्र तथा विकास रनाभाटसमेतको जाहेरीपछि अघि बढाइएको सीआईबीले जनाएको छ। पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते अनुमति लिइएको र काठमाडौं, ललितपुर तथा सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

तर यो प्रकरणमा रकम कति थियो भन्ने तथ्य झन् गम्भीर छ। सीआईबीका अनुसार गैरकानुनी रूपमा संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख रुपैयाँभन्दा बढी मलेसिया पठाउने निर्णय गरिएको थियो। यो रकम कहाँबाट कसरी संकलन भयो, कसको खातामा पुग्यो र त्यसको अन्तिम लाभ कसले लियो भन्ने विषय अनुसन्धानको मुख्य पाटो बनेकाे छ। 

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले कात्तिक १८ गते प्रहरी नेतृत्व सम्हालेका थिए। त्यसको दुई साताभित्रै सीआईबीले दुई पूर्वमन्त्रीसहित उच्च तहका अधिकारीलाई पक्राउ गरेको छ। 


Facebook Comments