सशस्त्रकाे एआईजीका तीन दाबेदार, दाबी गर्ने पहिलो ब्याच!
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०२ गते ११:२६
काठमाडौं । सशस्त्र प्रहरी बलको नेतृत्व अब आफ्नै संगठनबाट भर्ना भएका अधिकृतको हातमा पुग्ने बाटो खुल्दैछ। एआईजी वंशीधर दाहाल बर्खास्त भएपछि रिक्त पदमा बढुवाको तयारी भइरहेको छ। त्यसका लागि तीन डीआईजी मुख्य प्रतिस्पर्धामा छन्। रोचक त के छ भने, तीनै जना सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका अधिकृत हुन्। यही ब्याचबाट बढुवा हुने अधिकृत भविष्यमा संगठनको पहिलो आन्तरिक आईजीपी बन्ने सम्भावना छ।
सरकारले असोज २३ गते आचरणविपरीत काम गरेको निष्कर्षसहित एआईजी दाहाललाई बर्खास्त गरेको थियो। उनीमाथि प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग संवाद गरेको र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी कार्यालयमै पुगेर भेटेको विषयमा छानबिन भएको थियो। पोखरेल नेतृत्वको समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारले उनलाई पदबाट हटाएको थियो।
त्यसपछि रिक्त रहेको एआईजी पदमा बढुवाका लागि डीआईजी सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा मुख्य दाबेदारका रूपमा देखिएका छन्। उनीहरू तीनै जना २०७९ फागुनमा एकैपटक डीआईजीमा बढुवा भएका थिए। त्यतिबेला दोस्रो वरियतामा रहेका अञ्जनीकुमार पोखरेल एआईजी बनिसकेका छन्। तर पहिलो वरियताका श्रेष्ठ भने बढुवामा छुटेका थिए। अहिले शाह दोस्रो र थापा तेस्रो वरियतामा छन्।
सशस्त्र प्रहरीमा एआईजीका तीन दरबन्दी छन्। दाहाल बर्खास्त भएपछि सीमा सुरक्षा विभागको पद रिक्त छ। अहिले डीआईजी श्रेष्ठ त्यही विभागमा कार्यरत छन्। शाह इन्टेलिजेन्स ब्युरो र थापा प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा छन्। यही ब्याचका दीपक अधिकारी, मनीष थापा र कृष्ण ढकाल पनि डीआईजी छन्, तर उनीहरू पछि बढुवा भएकाले तत्काल एआईजी बन्ने सम्भावना कम रहेको बताइएको छ।
अब यो बढुवाको चासो तत्कालीन रिक्त पदमा को पुग्छ भन्नेमा मात्रै सीमित छैन। यसको सम्बन्ध सशस्त्र प्रहरीको भावी नेतृत्वसँग पनि जोडिएको छ। हालका आईजीपी नारायणदत्त पौडेल २०८४ चैतमा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश हुँदैछन्। त्यसपछि एआईजी गणेश ठाडा मगर आईजीपी बन्ने सम्भावना रहेको छ। उनी नेपाल प्रहरीबाट सशस्त्रमा आएका अधिकारी हुन्।
त्यसपछि भने आफ्नै संगठनमा भर्ना भएका अधिकृतबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने अवस्था बन्न सक्छ। एआईजी अञ्जनीकुमार पोखरेल र अहिले बढुवा हुने अधिकृतमध्येबाट भावी नेतृत्वको प्रतिस्पर्धा अघि बढ्न सक्छ। यसरी बढुवा हुने अधिकारीले अवसर पाए सशस्त्र प्रहरी बलको आफ्नै पहिलो ब्याचबाट आएको पहिलो आईजीपी बन्नेछन्।
सरकारले तीन डीआईजीमध्ये कसलाई एआईजी बनाउँछ र त्यसले संगठनको भावी नेतृत्वको समीकरण कसरी बदल्छ, त्यो चासोको विषय बनेको छ।
Facebook Comments