सात इन्जिनियर सरकारी  सेवाबाट बर्खास्त, हाजिर नभएपछि गयो जागिर !

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०२ गते ११:३०
Image of https://mayorsap.com/storage/photos/shares/sarkari-karmachari.jpg

काठमाडौं । सरकारी जागिर पाउन वर्षौंको मेहनत र प्रतिस्पर्धा पार गर्नुपर्छ। तर जागिर पाएपछि पनि जिम्मेवारी पूरा नगर्दा स्थायी कर्मचारीकै पद गुम्न सक्छ भन्ने उदाहरण बनेका छन् सात जना इन्जिनियर।

पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ। मन्त्रालयले बुधबार सूचना जारी गर्दै उनीहरूलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो। बर्खास्त हुनेमा पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ छन्।

मन्त्रालयको सूचनाअनुसार उनीहरूमध्ये चार जना कार्यालयमा हाजिर नै नभएको र तीन जना बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा कारबाहीमा परेका हुन्। याे घटनामा कार्यालयमा नियमित हाजिर नगरेको र कसैले स्वीकृति नलिई बिदामा बसेको विषयलाई मन्त्रालयले सामान्य अनुशासन उल्लंघनका रूपमा मात्रै लिएन। निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा १ को खण्ड (छ) र (ज) बमोजिमको कसुर ठहर गर्दै उनीहरूलाई सेवाबाट हटाउने निर्णय गर्‍यो।

दफा ६१ को उपदफा १ को खण्ड (छ) मा विदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा जागिरबाट हटाइने प्रावधान रहेकाे छ । त्यस्तै (ज) मा मानसिक कारण भई विदा स्वीकृत गराएकोमा बाहेक वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारी त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको मितिले तीस दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर नभएमा जागिरबाट हटाइने प्रावधान राखिएकाे छ । यस घटनाले सरकारी सेवामा स्थायी नियुक्ति पाएपछि पनि कार्यालयमा उपस्थित हुने, स्वीकृत बिदा लिने र तोकिएको जिम्मेवारी पूरा गर्ने अनुशासन कति महत्त्वपूर्ण छ भन्ने देखाएको छ। 


Facebook Comments