दरखोलामा मोटरेबल पुल निर्माण सुरु
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १२:१९
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङस्थित दरखोलामा मोटरेबल पुल निर्माणको काम धमाधम सुरु भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत ठेक्का सम्झौता भई यसै महिनादेखि निर्माण कम्पनीले स्थलगत काम थालेको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार २५ मिटर लामो यो पुल निर्माणका लागि २०८१ भदौ १९ गते ५ करोड ५९ लाख ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
हाल खोलालाई डाइभर्सन गरेर पुलको पिल्लर राख्ने फाउन्डेसन निर्माणको काम भइरहेको छ । सम्झौताअनुसार यो पुल एक वर्ष पाँच महिनाभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार यो पुल निर्माण भएपछि पालिकाको १ र २ नम्बर वडा सिधा सडक सञ्जालमा जोडिनेछन् ।
हाल बर्खायाममा दरखोलामा पानीको सतह बढ्दा मुना–खोरीया–लमसुङ–लुलाङ–गुर्जा सडक खण्डमा यातायात पूर्ण रूपमा बन्द हुने गरेको छ ।
Facebook Comments