कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर
No Author Assigned | २०८२ फागुन ०६ गते २१:१६
काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ।
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्।
भोलि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका छन्। सभापति थापाले ठूलो एलइडि स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए।
उनले भने, ‘नेपाली कांग्रेसले बुधबार मधेशको राजधानी जनकपुरबाट सार्वजनlक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौंमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खुला प्रश्नोत्तर कार्यक्रम राखिएको छ।’
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए।
कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने र आगामी पाँच वर्षमा गर्ने योजनाको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ। प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्नहरू गर्न र जिज्ञाशा राख्न पाउने छन्। नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको हो।
Facebook Comments