कसरी निकालिन्छ दलहरूको समानुपातिक सिट? के हो 'भाजक' र 'शेष मत' को गणित?

User Image मेयरसाप डेस्क | २०८२ फागुन २६ गते १७:५८
Image of https://mayorsap.com/storage/photos/shares/nirwachan-aayog_2.jpg

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा गरिसकेको छ । समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेसँगै नयाँ प्रतिनिधिसभाको संरचना कस्तो हुने भन्ने स्पष्ट सङ्केत देखिएको छ।

नेपालको निर्वाचन प्रणालीमा समानुपातिकतर्फको ११० सिट बाँडफाँट गर्ने निश्चित कानुनी प्रक्रिया छ । धेरैलाई लाग्न सक्छ, मत प्रतिशतका आधारमा सिधै सिट निकालिन्छ, तर यसको प्रक्रिया अलि फरक र प्राविधिक हुन्छ ।

समानुपातिक सिट पाउनका लागि कुनै पनि दलले कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनै पर्छ । अहिलेको १ करोड ४ लाख ४४ हजार ६२६ मतगणनालाई आधार मान्दा, सिट पाउनका लागि कुनै पनि दलले कम्तीमा त्यसको ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यो मत नल्याउने दलहरू सिट बाँडफाँटको प्रक्रियाबाट बाहिरिन्छन् र उनीहरूले पाएको मत गणना हुँदैन।

जसमा सिट बाँडफाँटका लागि सबैभन्दा पहिले ३ प्रतिशतको  थ्रेसहोल्ड कटाउने दलहरूको मत मात्र गणना गरिन्छ । यस निर्वाचनमा ६ वटा दलले मात्र यो सीमा कटाएका छन्। यी ६ दलले प्राप्त गरेको कुल सदर मत जोड्दा ९५ लाख ७५ हजार ३९६ हुन आउँछ ।

अब यसमा सिट संख्या निकाल्नका लागि एउटा आधारभूत सङ्ख्या अर्थात् भाजक निकालिन्छ ।यसका लागि थ्रेसहोल्ड कटाउने दलहरूको कुल मत ९५ लाख ७५ हजार ३९६  लाई प्रतिनिधिसभाको समानुपातिकतर्फको कुल सिट संख्या ११० ले भाग गरिन्छ । यसरी प्राप्त भएको अंक ८७ हजार ४९ लाई नै सिट निर्धारण गर्ने मुख्य भाजक मानिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था भए अनुसार परिणाम विभाजक सूत्र प्रयोग गरी अब प्रत्येक दलले पाउने सिट निकालिन्छ। यस अन्तर्गत, प्रत्येक दलले प्राप्त गरेको कुल मतलाई माथि निकालिएको भाजक ८७ हजार ४९ ले भाग गरिन्छ।

उदाहरणका लागी रास्वपाले पाएको मत ५० लाख १४ हजार ८९१ लाई भाजक मत ८७ हजार ४९ ले भाग गर्दा ५७.६० हुन्छ । जस अनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्छ भने ५३ हजार ९८ मत बाँकी रहन्छ । 

यसै गरी कांग्रसले पाएको कुल १६ लाख ९५ हजार २६६ लाई भाजन गर्दा उल्लेखित भाजक अनुसार १९ सिट प्राप्त गरी ४१ हजार ३३५ मत बाँकी रहन्छ । त्यस्तै एमालेले पाएको कुल  १४ लाख १३ हजार ६९ मतले १६ सिट प्राप्त गरी २० हजार २८५ मत बाँकी रहन्छ । नेकपाले पाएको कुल ७ लाख ६८ हजार ३२७ मतले ८ सिट प्राप्त गरी ७१ हजार ९३५ मत बाँकी रहदा श्रम संस्कृति पार्टीले पाएको कुल ३ लाख ५८ हजार ४६८ मतले ४ सिट प्राप्त गरी १० हजार २७२ मत बाँकी रहन्छ । त्यस्तै  राप्रपाले पाएको कुल मत ३ लाख २५ हजार ३७५ मतले ६४ हजार २२८ मत बाँकी रहन्छ ।

समानुपातिकतर्फको ११० सिटमध्ये पहिलो चरणमा १०७ सिटको निर्धारण भएको छ । बाँकी ३ सिट भने बाँकी रहेको उच्च मतका आधारमा ठुला दलहरूलाई क्रमशः बाँडफाँट गरिनेछ।
यसरी हेर्दा यहाँ बाँकी ३ सिटमध्ये रास्वपा, नेकपा र राप्रपालाई १, १ सिट थपिने देखिन्छ । जस अनुसार समानुपातिकतर्फ रास्वपाले ५८ सिट, कांग्रेसले १९ सिट, एमालेको १६ सिट, नेकपाले ९ सिट तथा श्रम संस्कृति र राप्रपाको ४, ४ सिट प्राप्त गर्ने देखिन्छ ।

अहिलेकै मत परिणामलाई आधार मान्दा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५८ गरी कुल १८३ सिट हासिल गर्ने देखिएको छ । यस्तोमा प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिन्छ । यसमा रास्वपासँग एक सिट अपुरो हुने देखिन्छ । यद्यपी रास्वपाले अघोषित रूपमा निर्वाचनमा समर्थन गरेको स्वतन्त्र उम्मेदवार महाबिर पुनलाई मिलाउने हो भने प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइ बहुमत हुने देखिन्छ । यसरी भाग गरेर बाँकी रहने सिटहरू भने सबैभन्दा बढी शेषमत रहेका दलहरूलाई क्रमैसँग बाँडफाँट गर्दै ११० सिट पुरा गरिन्छ।

प्राप्त नतिजा अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी  यस निर्वाचनमा सबैभन्दा ठुलो शक्तिको रूपमा उदाएको छ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।

०००


Facebook Comments