तीनपाटन अध्यक्ष कर्णबहादुरले कांग्रेसका उम्मेदवार जिताउन पालिकाबाट दिए लिटरका–लिटर पेट्रोल (प्रमाणसहित)

सहयोग गर्ने न्यायिक समिति सदस्य गीता बोगटी

User Image रामचन्द्र मिश्र | २०८२ फागुन २६ गते २०:११
Image of https://mayorsap.com/storage/photos/shares/tinpatan-karna-and-gita-bogati.jpeg

सिन्धुली । तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापालाई निर्वाचन आउनु दसैँ लाग्नुजस्तै भएको छ । कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका कर्णबहादुर थापा मागरले प्रतिनिधिसभाको भर्खरै सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवार उज्ज्वल बराललाई जिताउन तीनपाटन गाउँपालिकाबाट लिटरका लिटर–पेट्रोल बाँडेको प्रमाण मेयरसाप डटकमले प्राप्त गरेको छ ।

फरक शीर्षक राखेर कर्णले पालिकाबाट कांग्रेसका कार्यकर्तालाई पेट्रोल दिएको सक्कली बील नै मेयरसापले गोप्य स्रोतमार्फत प्राप्त गरेको हो । प्रमुख प्रशासकीय अधिकृतमार्फत आर्थिक कारोबार गर्नुपर्ने कानुन मिच्दै कर्णबहादुर आफैँले फरक–फरक शीर्षकमा पेट्रोलका बील पालिकामा पेश गरेर हिसाब राफसाफको तयारी थालेका छन् ।

कर्णबहादुर आफैँले गीता बाेगटीकाे लागि काटेकाे तेलकाे कुपनकाे बील

याे बील पालिकामा पेश गर्न व्यपारीलाई कर्णबहादुरले उपलब्ध गराएकाे समेत प्रमाण प्राप्त भएकाे छ ।  व्यापारीलाई उज्जल बरालकाे चुनाव प्रचारप्रसारमा सहभागी कांग्रेसका कार्यकर्ताकाे बाइकमा पेट्राेल हालिदिन अनुराेध गरेका  कर्णले माथि राखिएकाे बील पालिकामा पेश गरी पेट्राेलकाे पैसा लिन भनेकाे मेयरसाप डटकमले सूचना प्राप्त गरेकाे छ ।

यसअघि पनि मेयरसाप डटकमले कर्णबहादुरका डिजेल–पेट्रोल दुरुपयोगका समाचार पटक पटक सार्वजनिक गरिसकेको छ । पटक पटक प्रमाणसहित भ्रष्टाचार गरेको समाचार सार्वजनिक गर्दा पनि कर्णबहादुर भ्रष्टाचारमा पूर्ण लिप्त भएको अहिलेको पेट्रोल वितरणले पुनः पुष्टि गरेको छ ।

फागुन २६ गते न्यायिक समिति सदस्य गीता बोगटीको नाममा ११.७५ लिटर पेट्रोल बुझिलिएको पत्र मेयरसाप डटकमले गोप्य सूचनामार्फत प्राप्त गरेको छ । कांग्रेसबाट ४ नम्बर वडा सदस्यमा निर्वाचित गीता बोगटी न्यायिक समिति सदस्य छिन् । उनलाई ‘न्यायिक समिति सदस्य विभिन्न वडा अनुगमनमा’ भन्ने शीर्षमा ११.५७ लिटर पेट्रोल उपलब्ध गराएको बील कुपन नम्बर १५७८ मा उल्लेख छ । उक्त बीलमा कर्णबहादुर आफैँले हस्ताक्षर गरेका छन् । नागरिकको लागि आएको विकासको पैसा राजनीतिक लाभका लागि दुरुपयोग गरेको यो सशक्त प्रमाण हो । 

न्यायिक समितिका संयोजक अशोक पुलामीले मेयरसाप डटकमसँग अहिले कुनै पनि न्यायिक समितिको अनुगमन नभएको जानकारी गराए । ‘अहिले तेल पनि अनलाइनबाटै प्रशासनले हामीलाई उपलब्ध गराउँछ । अहिले न्यायिक समितिसँग सम्बन्धित कुनै अनुगमनमा हामी गएका छैनौं । कसैलाई खटाएका पनि छैनौं’, पुलामीले हामीसँगको संवादमा भने ।

न्यायिक समितिका अर्का सदस्य जनक गौतमलाई सम्पर्क गरी अनुगमन भए/नभएकोबारे जिज्ञासा राख्दा उनले पनि न्यायिक समितबाट कुनै अनुगमनको काम नभएको जानकारी गराए ।

यस विषयमा कुपनमा नाम भएकी गीता बोगटीलाई सम्पर्क गरी ,‘अहिले कुनै न्यायिक समिति सम्बन्धी अनुगमन भएको छ ?’ भन्ने प्रश्न गर्दा बोगटीले सुरुमा कुनै अनुगमन नभएको बताइन् । तर हामीले अनुगमनमा गएको भन्दै तेलको बील काटेको प्रमाण हामीसँग भएको जानकारी गराएपछि बोगटीले २६ गते बाटोको विवाद र बिहेमा पुगेर आएको बताइन् ।

बोगटी र कर्णको पार्टी एकै भएका कारण उनीहरुले मिलेमतोमा पालिकाको बजेट दुरुपयोग गरिरहेको देखिन्छ । तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज साहले पनि पेट्रोलको कुपन काटेको बारे जानकारी नभएको बताए । ‘पेट्रोलको कुपन अनलाइनबाटै काट्ने सिस्टम छ। यहाँ चाहिँ गाउँपालिका अध्यक्ष आफैँले पनि काट्नुहुनेरहेछ । उहाँले काटेका कुपनबारे कुनै जानकारी मलाई हुँदैन’, साहले मेयरसाप डटकमसँग भने ।

कर्मचारीले विधि र पद्दतीमा काम गर्न खाेज्दा कर्णले सरुवा गरीदिने धम्की दिने गरेका छन् । यसअघिका तीनपाटन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेँगीलाई कर्णले आफूले भनकाे नमानेकाे भन्दै सरुवा गराएका थिए । मेयरसाप डटकमलाई प्राप्त गोप्य सूचनाका आधारमा यो पेट्रोल गएको प्रतिनिधिसभामा सिन्धुली क्षेत्र नम्बर १ मा सांसद पदमा उम्मेदवार उठेका कांग्रेसका उज्जल बरालको चुनावमा खर्च भएको थियो ।

यसबारे जानकारी लिन कर्णबहादुरलाई पटक पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । यसअघि मेयरसाप डटकमले नै घाटा बजेट बनाएर कर्णबहादुरको टिमले तीनपाटन गाउँपालिकाको पैसा दुरुपयोग गरिरहेको समाचार प्रकाशित गरेको थियो । 

कर्णबहादुरका यस्ता गतिविधिमा सहयोग गर्न ४ नम्बरकी वडा सदस्य गीता बोगटीलाई लेखा समिति संयोजक बनाइएको छ । यसअघिका लेखा समिति संयोजकले कर्णबहादुरकै कारण काम गर्न नसक्ने जानकारी दिँदै पदबाट राजीनामा दिएका थिए । कर्णबहादुरले कांग्रेसको बहुमतको दम्भमा पालिकामा कागजात मिलाएर चरम भ्रष्टाचार गर्न मुख्य ठाउँहरूमा आफ्ना मान्छे राख्ने गरेको आरोप लाग्दै आएको छ । 

याे पनि पढ्नुहाेस्

राज्यकोषको दुरूपयोगः पार्टीका सभा र प्रशिक्षणमा तीनपाटन गाउँपालिकाको लगानी

काममा कानुन पल्टाउन थालेपछि तीनपाटन अध्यक्ष कर्णबहादुर अधिकृतकाे सरूवामा सक्रिय

कानुनविपरीत इन्धन, खाना–खाजा र बैठक भत्ता लिन्छन् तीनपाटनका अध्यक्ष–उपाध्यक्ष

 

 


Facebook Comments