बालेनको विष्फोटक क्याबिनेट : हर्कलाई मन्त्री अफर, को–को परे सूचीमा?
स्वर्णिम–डीपीलाई तनाव
जनेश ठकुल्ला
|
२०८२ फागुन ३१ गते २०:४४
काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ राम्रो नतिजा ल्याउँदै झन्डै दुई तिहाइ नजिक पुगेको छ । १८२ सिटसहितको प्रचण्ड बहुमत बोकेर रास्वपा सिंहदरबार छिर्ने तरखरमा छ । रास्वपा, अहिले सरकार गठनतर्फ अघि बढेपछि सबैको ध्यान भावी प्रधानमन्त्री बालेन शाहतर्फ गएको छ ।
रास्वपा स्रोतका अनुसार बालेन अहिले क्याबिनेट बनाउने तयारीमै छन् । मन्त्रालयको संख्या घटाउने, काम गर्न सक्ने टिम बनाउने र कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा उनी छलफल गरिरहेका छन् । देश चलाउने ठाउँमा काम गर्न सक्ने मान्छे र सकेसम्म विषय बुझ्न सक्ने टिम बनाउनुपर्छ भन्ने बालेनको धारणा छ ।
बालेनको इच्छा संसद् बाहिरका जान्ने–बुझ्ने विज्ञहरूलाई मन्त्री बनाउने थियो । तर संविधानले सांसद नभएको मान्छे ६ महिनाभन्दा बढी मन्त्री हुन नपाउने व्यवस्था गरेकाले अहिले बालेन सांसदहरूबाटै खप्पिस मान्छे छान्न थालेका छन् । पार्टी सभापति रवि लामिछानेसँगको छलफलमा बालेनले सरकारको क्याबिनेटका सदस्य आफूले छान्ने र लगभग १५ जना मन्त्रीहरूको मात्र मन्त्रिपरिषद् गठन गर्ने योजना सुनाएका थिए ।
अहिले सबैभन्दा धेरै चासोको विषय बनेको छ— बालेनको क्याबिनेट कस्तो बन्छ? सबैभन्दा धेरै चर्चामा छ, अर्थ मन्त्रालय । अर्थ मन्त्रालयका लागि रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको नाम सबैभन्दा धेरै सुनिएको छ । केही समयअघि सभापति रवि लामिछानेले नै वाग्लेलाई ‘बजेट लेख्न सुरु गर्नुस्’ भनिसकेका थिए । त्यसपछि धेरैले उनलाई सम्भावित अर्थमन्त्रीका रूपमा हेर्न थालेका छन् । तर, पार्टीभित्र प्युठानबाट निर्वाचित सुशान्त वैदिकको नाम पनि चर्चामा छ । अर्थशास्त्र पढेका सुशान्तलाई बालेनले राम्रो विकल्पका रूपमा हेरेको बताइन्छ ।
यता, गृह मन्त्रालयको विषयमा पनि पार्टीभित्र धेरै कुरा भइरहेको छ । सभापति लामिछाने यो मन्त्रालय उपसभापति डीपी अर्याललाई दिन चाहन्छन् । उनी यसअघि पनि श्रममन्त्री भइसकेका व्यक्ति हुन् । तर, काठमाडौं महानगरमा बालेनसँग नजिक रहेर काम गरेका सुनिल लम्सालको नाम पनि चर्चामा छ । बालेनले महानगरमा आफूसँगै काम गरेका विश्वासपात्र लम्साललाई गृहमन्त्री बनाउन चाहेका छन् । यदि गृहमा कुरा नमिले लम्साललाई भौतिक पूर्वाधार मन्त्रालय दिने विकल्पबारे पनि कुरा भइरहेको बुझिएको छ ।
यसैगरी परराष्ट्र मन्त्रालयमा शिशिर खनालको नाम लगभग पक्का जस्तै छ । पार्टीको विदेश विभाग हेर्दै आएका खनाललाई यो जिम्मेवारी दिनुपर्ने मत पार्टीभित्र पनि बलियो छ । त्यस्तै, सरकारको प्रवक्ता र सञ्चार मन्त्रालयका लागि सस्मित पोखरेलको चर्चा छ । काठमाडौँ–५ बाट निर्वाचित सस्मितको कम्युनिकेसन स्किल देखेर बालेन फिदा भएको बताइन्छ ।
स्वास्थ्य मन्त्रालयका लागि डा. लेखजंग थापा र तोसिमा कार्कीको नाम अगाडि छ । महिला तथा बालबालिका मन्त्रालयका लागि भने झापामा पूर्व सभामुख देवराज घिमिरेलाई पछारेकी इन्दिरा राना मगरको नाम अग्रपंक्तिमा छ । त्यस्तै, चितवन–३ बाट निर्वाचित सोविता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने सम्भावना देखिएको छ । युवा नेता सुदन गुरुङलाई युवा तथा खेलकुद मन्त्रालय दिने चर्चा पनि भइरहेको छ ।
यसैबीच बालेनले काठमाडौं महानगरमा आफूलाई सहयोग गरेका केही व्यक्तिहरूलाई पनि टिममा ल्याउन सक्ने चर्चा छ । महानगरका आइटी सल्लाहकार सुदीप ढकाल समानुपातिकबाट सांसद बन्ने सम्भावना भएकाले उनलाई पनि कुनै मन्त्रालय दिन सकिने बताइएको छ । यसअघि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका विराजभक्त श्रेठलाई यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ ।
मधेसबाट पनि केही नेताहरू मन्त्री बन्ने दौडमा छन् । मनिष झा, पुरुषोत्तम यादव, बब्लु गुप्ता र अमरेशकुमार सिंहको नाम पनि समावेश छ । अझ रमाइलो कुरा के छ, भने बालेनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि सरकारमा आउन प्रस्ताव गर्ने हल्ला चलेको छ । बालेन हर्कले धरानको मेयर हुँदा गरेको कामबाट प्रभावित भएकाले उनलाई मन्त्रीको प्रस्ताव गर्ने बताइएको छ । तर, हर्कले त्यो प्रस्ताव स्वीकार गर्छन् कि गर्दैनन् भन्ने अझै स्पष्ट भएको छैन ।
यता, रास्वपाले बालेनलाई संसदीय दलको नेता बनाउन आफ्नो विधान नै फेर्न लागेको छ । पहिले पार्टी सदस्यले नेता छान्ने नियम थियो । तर, अहिलेको परिस्थितिअनुसार त्यसलाई परिवर्तन गरेर बालेनका लागि यो बाटो सजिलो बनाइँदै छ । आगामी चैत ५ गतेसम्म बालेनलाई संसदीय दलको नेता चुन्ने रास्वपाको तयारी छ । संसदीय दलको नेता चयन भएपछि रास्वपाको सिफारिसमा बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् । यता, प्रधानमन्त्री सुशीला कार्की पनि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने तयारीमा रहेको बुझिएको छ ।
Facebook Comments