एमालेमा ठुलो विद्रोह : डराए ओली, गुण्डुमा रूवाबासी, भित्रभित्रै उथुलपुथल
बालेनको प्रहार, एमालेमा वारपार
जनेश ठकुल्ला
|
२०८२ फागुन ३१ गते २१:०३
काठमाडौं । निर्वाचनको नतिजा आएपछि अहिले एमालेभित्रको माहौल पुरै बदलिएको छ । एमालेले यसपटक चुनावमा सबैभन्दा कमजोर नतिजा ल्यायो । प्रत्यक्षतर्फ निकै कम जित्यो भने, समानुपातिक मत पनि ह्वात्तै घट्यो । अघिल्लो निर्वाचनमा लोकप्रिय मतमा पहिलो पार्टी बनेको एमाले अहिले तेस्रो स्थानमा पुगेको छ । प्रत्यक्ष र समानुपातिक गरेर एमाले यसपटक २५ सिटमा सीमित भएको छ । यो परिणाम एमालेभित्र धेरैका लागि निकै अप्रत्याशित बन्यो । यही कारण अहिले एमालेभित्र समीक्षा गर्नुपर्ने र नेतृत्व परिवर्तन हुनुपर्ने आवाज सबैभन्दा धेरै उठिरहेको छ ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, उपमहासचिव योगेश भट्टराई र सुरेन्द्र पाण्डेलगायत नेताहरूले चुनावी परिणामपछि नेतृत्व परिवर्तनको बहस उठाउन थालेका छन् । उपाध्यक्ष विष्णु पौडेलले चुनावको परिणाम आउनासाथ सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखेका थिए । उनले विगतका गल्तीहरूको समीक्षा गर्नुपर्ने, पार्टीलाई जनअपेक्षाअनुसार बदल्नुपर्ने र संगठनलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने बताएका थिए ।
हिजोसम्म ओलीका लागि ढाल बनेका विष्णु पौडेल आज ओलीकै लागि काल बनेर निस्किए । विष्णु मात्र होइन, अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ नेतृत्व परिवर्तनको बहसप्रति सकारात्मक देखिएका छन् । उनी पनि ओलीले आफैँ राजीनामा दिनुपर्ने बताउन थालेका छन् । गुरुङ आफू निकटका नेताहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले आफैँ राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् ।
यता उपमहासचिव योगेश भट्टराईले त झन् घाउमै नुन छर्किएका छन् । उनले जनताले एमालेको नीति र नेतृत्वलाई लात मारिदिएको ठोकुवा गरेका छन् । गत भदौ २३ र २४ गतेको घटनापछि पार्टीले लिएका केही निर्णयहरूबारे आफूले सुधार गर्नुपर्ने सुझाव दिँदा पनि त्यसमा खासै ध्यान नदिएकाले अब भने ती विषयमा फेरि खुला रूपमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।
यसपटकको निर्वाचन परिणामपछि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश–जिल्ला कमिटीमा रहेका सस्यहरूले पार्टी अब यथास्थितिमा चल्न नसक्ने, निर्वाचन परिणामको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने आशय व्यक्त गरिरहेका छन् । अध्यक्ष ओलीले आफै मार्गप्रशस्त नगरे राजीनामा दिन लगाउने तहसम्म अघि बढ्नुपर्ने एमालेका अधिकांश नेताहरूको धारणा छ ।
उता ओली समूहभित्रै नेतृत्व परिवर्तनको आवाज उठ्न थालेपछि पार्टीको इतर समूह भने अहिले केही समय पर्खने मनस्थितिमा देखिन्छ । गत महाधिवेशनमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डेले चुनावअघि नै ओलीको हार भए नेतृत्व छोड्नुपर्ने बताएका थिए । परिणाम आएपछि पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आएको बताइसके । यसपटक जनताले मतपत्रबाटै एमालेलाई अस्वीकारको कठोर फैसला सुनाइसकेको उनको दाबी छ ।
नेपालीमा एउटा उखान छ— अति गरे खति हुन्छ । ओलीका लागि यो चुनाव त्यस्तै खति साबित भयो । हिजोसम्म ‘म नै एमाले, एमाले नै म’ भन्ने दम्भ बोकेका ओली यसपटक आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग झण्डै ५० हजार मतको फराकिलो अन्तरले पराजित भए ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना युवा मारिए । त्यतिबेला ओली प्रधानमन्त्री थिए । न उनले आत्मालोचना गरे, न त घाइते भेट्न पुगे । त्यही पीडा बोकेका युवाहरूले यसपालि एमालेलाई दुत्कारे । घर–घरमा पुगेर आफ्ना आमाबुवालाई समेत एमालेलाई भोट नदिन आग्रह गरे । जसका कारण यसपटको निर्वाचनमा एमाले प्रत्यक्षमा ९ सिटमा खुम्चियो भने, अघिल्लो चुनावको तुलनामा ४७ प्रतिशत लोकप्रिय मत पनि खस्कियो ।
ओलीको दम्भ यतिसम्म थियो कि जेन–जी आन्दोलनले प्रधानमन्त्री पदबाट बर्खास्त गरेको ६ महिना नबित्दै उनले आफैँलाई भावी प्रधानमन्त्री घोषणा गरे । तर झापाका जनताले बालेनलाई जिताएर ओलीलाई हारको स्वाद चखाइदिएपछि उनी रनभुल्ल परेका छन् ।
यसपटकको निर्वाचनपछि एमाले इतिहासकै अप्ठ्यारो मोडमा छ । हारको जिम्मेवारी कसले लिने र पार्टी अब कसरी अघि बढ्ने भन्ने बहस चर्किँदै गएको छ । अधिकांश नेता र पार्टी पदाधिकारीहरू खुलेरै नेतृत्व बदल्नुपर्ने आवाज उठाइरहेका छन् । ओलीले समयमै निकास दिएर नयाँ पुस्तालाई बाटो नछोड्ने हो, भने एमालेभित्रको यो असन्तोषले भोलि झन् ठुलो संकट निम्त्याउने देखिएको छ ।
Facebook Comments