दुबईमा ड्रोन आक्रमण: विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी
मेयरसाप डेस्क
|
२०८२ फागुन ३२ गते ०९:१४
काठमाडौं । संयुक्त अरब इमिरेट्स 'यूएई'को दुबईमा सोमबार भएको ड्रोन आक्रमणका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ ।
घटनापछि सिभिल डिफेन्सका टोलीहरू आगो नियन्त्रणमा लागि सक्रिय छन्, र अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। समाचार एजेन्सी सारजहाँ ट्वान्टी फोरका अनुसार विमानस्थल नजिक दुईवटा ड्रोन खसेका छन्।
विशेषज्ञहरूले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल–इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण तीव्र भएको बताएका छन्। त्यसयता खाडीका अरब मुलुकहरूले २,००० भन्दा बढी आक्रमणको सामना गरिसकेका छन्।
यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल, आवासीय र कार्यालय भवनहरू समेत पर्न पुगेका छन्।
सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेपछि यूएई यस्ता आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। यद्यपि अन्य खाडीका मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् र सबैले इरानको आलोचना गरेका छन्।
Facebook Comments