इन्धन आपूर्तिका लागि भारतले इरानसँग कूटनीतिक संवाद सुरु गर्यो

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३२ गते ०९:२५
Image of https://mayorsap.com/storage/photos/shares/dr-s-jaishankar.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न युद्धपोत पठाउन आह्वान गरेपछि भारतले इरानसँग प्रत्यक्ष वार्ता सुरु गरेको छ।

ट्रम्पले स्ट्रेट अफ होर्मुजबाट इन्धन बोकेका जहाज आउ–जाउ गर्ने वातावरण बनाउनका लागि चीन, फ्रान्स, बेलायत, जापान, दक्षिण कोरिया लगायतका देशहरुलाई पनि युद्धपोत पठाउन आग्रह गरेका थिए ।

विदेशमन्त्री एस जयशंकरले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा भनेका छन्, समस्या समाधानको उत्तम उपाय कूटनीतिक छलफल हो। उनका अनुसार भारतले इरानी अधिकारीहरूसँग जहाज आवागमन सुरक्षित राख्ने उपायमा संवाद गरिरहेको छ र सकारात्मक परिणाम पनि देखिएको छ।

यो संवादमार्फत शनिबार भारतका दुई एलपीजी बोक्ने जहाज, ‘शिवालिक’ र ‘नन्दा देवी’, करिब ९२,७१२ मेट्रिक टन तरल पेट्रोलियम ग्यास बोकेर हर्मुज जलडमरूमध्य पार गर्दै भारततर्फ प्रस्थान गरेका थिए।

जयशंकरले भनेका छन्, “स्ट्रेट अफ होर्मुजबाट जहाज आवागमन सुरक्षित राख्न अझै इरानसँग संवाद जारी छ। यसबाट अन्य देशहरूलाई पनि संवादमा संलग्न हुन प्रेरणा मिल्नेछ।”

स्ट्रेट अफ होर्मुज विश्वकै महत्त्वपूर्ण जलमार्ग हो, जहाँ दैनिक करिब २० प्रतिशत पेट्रोलियम आपूर्ति ढुवानी हुन्छ। अमेरिका–इजरायलको आक्रमणपछि तनाव बढेको र सुरक्षा कारणले अन्य देशका सयौं जहाज रोकिएका छन्, जसले तेल र ग्यास आपूर्तिमा असर पुर्याएको छ।


Facebook Comments