दुई–तिहाइको 'साइड इफेक्ट' : रविमा व्यापक परिवर्तन, प्रशंसाको ओइरो

विपक्षी चकित, सुध्रिएलान् सांसद?

User Image अम्बिका खड्का | २०८२ चैत ४ गते १९:५२
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane_2.jpg

रास्वपा सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदलाई के भने त्यस्तो ? जसले सिंगो राजनीतिक वृत्त नै तरंगित बनायो ? रास्वपाले आफ्ना सांसदलाई दिएको अभिमुखीकरण तालिमको समापन कार्यक्रममा रविले दिएको करिब ३० मिनेटको अभिव्यक्ति–जो यतिबेला चर्चाको केन्द्रमा छ । त्यो अभिव्यक्ति, जसले रविप्रतिको धेरैको धारणा बदलिदियो, आलोचकलाई मौन बनायो र समर्थकलाई अझ उत्साहीत ।

रविको बुधबारको भाषणले प्रशंसा पाउनुको कारण थाहा पाउन पहिले चुनावअघिका रविका अभिव्यक्ति स्मरण गरौं । 
आम चुनावभन्दा अघिसम्म रवि लामिछानेका वक्तव्यहरु प्राय सन्तुलित र तथ्यपरक कमै हुन्थे । उनको भाषणमा आगो ओकल्ने रिस हुन्थ्यो । पुराना दल र नेताप्रति तीखो प्रहार हुन्थ्यो । उनका धारणामा थोरै सत्यता र धेरै व्यङ्ग्य र कटाक्ष हुन्थ्यो । 


झन्डै दुई तिहाइको जितसँगै रविको यो आक्रोश उत्साहमा परिणत हुनुपर्ने हो । रविमा घमण्डको छनक देखिने अनुमान नभएको पनि होइन् । तर, बुधबार अभिमुखीकरण कार्यक्रममा रवि जसरी प्रस्तुत भए, सबैको होस उड्यो । कटाक्ष, आलोचना र भँडासको भाषा ओकाल्ने लामिछाने बुधबार निकै सम्हालिएर जिम्मेवार नेताको शैलीमा प्रस्तुत भए । रविको अभिव्यक्तिले अभूतपूर्व मतसहित जनताबाट अनुमोदन भएपछि जितभन्दा बढी जिम्मेवारी र चुनौती महसुस गरेको झल्काएको थियो ।

देश बदल्ने आफूहरुको अपिललाई जनताले मत खन्याएर अनुमोदन गरेपछि नतिजामुखी बन्न लामिछानेले पटक पटक आफ्ना सांसदहरुलाई प्रेरित गरे । आफैं समेत पटक पटक विवादमा तानिएका रवि सुरुबाटै पारदर्शितामा बढी केन्द्रित देखिए । पुराना दलहरुको कटाक्ष गरिरहेने लामिछानेले हिजोको भाषणमा इतिहासमा पुर्याएको गौरवपूर्ण योगदानका लागि भन्दै तीनै दललाई धन्यवादसम्म दिए । ३० मिनेटभन्दा बढीको लामिछानेको अभिव्यक्तिको अधिकांश हिस्सामा आफ्ना सांसदहरुलाई उनको निर्देशन थियो । उनले नवनिर्वाचित सांसदहरुलाई सांसदको आचरण र जिम्मेवारीबारे पटक–पटक सचेत गराइरहेका थिए ।

रविले नवनिर्वाचित आफ्ना सांसदहरुलाई दिएका १५ निर्देशनहरुः
नम्बर १. पुराना राजनीतिक दललाई जनताले ३५, ३६ वर्षसम्म कुुरे, तपाईँहामीलाई ३६ दिन पनि कुुर्ने वाला छैनन् । यो जितलाई मनोरञ्जनका रुपमा लिने, हल्का टिप्पणी गर्ने छुट कसैलाई छैन । एक एक भोटको इज्जत गर्नुस्,
नम्बर २. छोरो चढाएर संसद छिरेकी शहिदकी आमा छिन् यहाँ, कुनै विचौलियासँग साँठगाँठ गर्नुअघि यी नै शहिदकी आमालाई सम्झनु,
नम्बर ३.अनुशासनका विषयमा पार्टीले कडाइ गर्नेछ । अनुुशासन र स्वतन्त्रताबीचको भिन्नतालाई ध्यान दिनुुहोला । 
नम्बर ४.मिडियामा आफ्ना अभिव्यक्ति राख्नुअघि पार्टीपंतिmमा सल्लाह लिनुहोला,
नम्बर ५.हिजोका दिनमा जस्तो जथाभावि बोल्ने, हल्काफुल्का टिप्पणी दिँदै हिँड्ने हो भने सांसद पद त्यागेर गए हुन्छ, केही फरक पर्दैन,
नम्बर ६.गल्ती गर्ने सांसदलाई फिर्ता बोलाउने (राइट टु रिकल) को व्यवस्था यो पटक झन कडाइका साथ लागु हुनेछ, 
नम्बर ७.जनताले खन्याएर दिएको मतको जिम्मेवारी प्रत्येक दिन महसुस गर्नुहोला,
नम्बर ८.आलोचकलाई गालिगलौज नगर्नुस्, असहमतिहरुलाई सहज रुपमा लिने बानि बसाउनुस्,
नम्बर ९.संसदको सेसनबाहेक तपाईँहरुको भेट जनतासँग हुनुपर्नेछ, आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुुहोला, तपाईँको निर्वाचन क्षेत्रमा कुनै जनताले दुख पाए भने त्यसको जिम्मेवार तपाईँ हुुनहुनेछ ।
नम्बर १०.हामीले नागरिकसँग गरेका करारका अक्षर–अक्षर एक एक पढ्नुहोला,
नम्बर ११.मन्त्री बनाइदिनुस् भन्दै नहिँड्नुस्, मिडियामा म फलानो मन्त्री भनेर मिडिया ट्रायल नगर्नुस्,
नम्बर १२.सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् ।
नम्बर १३.गुट बनाएर कांग्रेस एमालेलाई जितिदैन, घण्टीका मुुनी सबैजना अटाउन सक्छौं, गुटको राजनीति गर्ने प्रयास नगर्नुस्,
नम्बर १४.मन्त्री, प्रधानमन्त्री बन्ने हाम्रो सपनाको भारी यो देशले बोक्दैन तर देशको, यो समाजको सपनाको भारी हामीले बोक्नुु पर्छ, ख्याल गर्नुस्
नम्बर १५.एउटा निर्वाचन जित्दैमा शक्तिशाली महसुस गर्ने, चालचलन फेर्ने नगर्नुस्, जनतासँग सक्दो नजिक रहनुस्,

रवि लामिछानेको बुधबारको यो जिम्मेवारपूर्ण वक्तव्यप्रति विभिन्न राजनीतिज्ञ, कलाकार व्यापारव्यवसायीले समेत सकारात्मक अभिव्यक्ति दिएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लामिछानेको अभिव्यक्तिको खुलेरै प्रशंसा गरे । उनले लामिछानेको त्यो भाषणले ‘फलेको हाँगो निहुरिन्छ भन्ने लोकोक्ति राम्रोसँग झल्किएको टिप्पणी गरेका छन् । नबिल बैंकका सिइओ मनोज ज्ञवालीले पनि सामाजिक सञ्जालमा रवि लक्षित पोष्ट गर्दै पहिलो पटक उनको बोलि गज्जब लागेको टिप्पणी गरे । उनले बोलेजस्तै काम गर्नु–गराउनु भन्ने सुझाव समेत व्यक्त गरेका छन् । 
अघिल्लो निर्वाचनमा २१ सिट जित्दै चौंथो पार्टी बनेको रास्वपा यस पटक १८२ सिट जित्दै देशको ठूलो पार्टी बन्यो । रास्वपाले पाएको जनमतको आँधीबेरीको चर्चा अहिले पनि साम्य भएको छैन । केही दिनभित्र रास्वपाले एकलौटी शक्तिशाली सरकार गठन गर्दैछ । यसको ‘साइड इफेक्ट’ कस्तो आउने हो भन्ने शंका समेत आम जनमानसमा थियो । तर रविको बुधबारको प्रस्तुति र जिम्मेवार अभिव्यक्तिले शंकालाई आशामा रुपान्तरण गरिदिएको छ । जनमानसमा सकारात्मक उर्जा थपेको छ । 


Facebook Comments