बालेनको ‘ग्रीन सिग्नल’ : सुधनकाे संकट टर्यो कि सर्यो ?

रास्वपाभित्र असन्तुष्टी

User Image मेयरसाप डेस्क | २०८३ वैशाख ६ गते २०:४०
Image of https://mayorsap.com/storage/photos/shares/suklumbass.jpg

केही दिन अघिसम्म, सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि जनता सुनै–सुन मात्रै सुन्थे । अहिले सुन छोडेर सिंगो मुलुक, सुधन सुनिरहेको छ । 

अब एकछिनका लागि आरोप–प्रत्यारोप, वा पार्टीको नेता कार्यकर्ता भन्दा माथि उठेर, पक्ष विपक्ष नभई निष्पक्ष भएर सोचौँ त,के रास्वपा भित्रै मन्त्री दीपक साहमाथि लागू भएको राइट–टु रिकलको नजिर विवादमा परेका गृहमन्त्री सुुधन गुरुङमा किन लागू नहुने ? अनि नियम कानून पनि बलियो दुब्लो, कालो गोरो वा, शक्तिशाली र कमजोर भनेर फरक–फरक हुन्छ र ? हुँदैन भने सुधनको हकमा किन यो तहको सुविधा ? प्रश्न व्यक्ति सुधनको राजीनामाको हैन,थिति बसाल्ने संकल्प गरेर जनताबाट जनादेश पाएको सिंगो रास्वपा र बालेन्द्र शाह नेतृत्वको सरकारमाथि को हो ।  

तपाई रास्वपा कार्यकर्ता शुभेच्छुक वा सुुधन समर्थक हुनुहुन्छ भने तपाईँलाई लाग्न सक्छ, ओली देउवा प्रचण्डहरूको दूषित प्रगतिका अगाडि सुुधनले के नै गरेका छन् र ? फेरि तपाईँलाई यो पनि लाग्दो हो हिजो, ओलीहरूले गर्दा ओलीका झोली भएर प्रश्न गर्दैन थ्यौ अहिले किन बोलिरहेको ? मिडियाले हिजो पनि प्रश्न र,खबरदारी गर्थे आज पनि गरिरहेका छन् र भोली पनि गर्नेछन् । रवि–बालेन सुधनको विषयमा किन जोखना हेरिरहेका छन् उनीहरू नै जानुन् । तर पार्टी भित्रै पनि यो निर्णय ढिलाईको विषयमा एउटा तप्का असन्तुष्ट छ । 

आइतबार पार्टी बैठक र सोमबार मन्त्री परिषद् बैठकमै सुधनको विषयले प्रवेश नपाएपछि सुधन प्रकरण सरेको कि टरेको भन्नैमै संशय पैदा भएको छ । सुधनको पछि कतै रवि बालेन पनि सती गएकी भन्ने कोणबाटसमेत हेर्न थालिएको छ ।

रास्वपाले सुधनलाई राजीनामा गराउने कुरामा पर्ख र हेर गर्दै झ्यालबाट च्याउँदा विपक्षीले गीत गाउने सुविधा पाएछन् । हिजो काँग्रेसले छानबिनको माग ग¥यो आज एमाले पनि मिसिएर राजीनामा माग्दै छ । भोली अरु झालेमाले पनि मिसिने पक्का छ । गलत गरे बाबुलाई पनि छोड्दिन भन्दै सुशासनका लागि कस्सिएका सुुधनले पनि मार्ग प्रशस्त गरेर अनुसन्धानमा सहयोग गर्ने हिम्मत देखाएका छैन । भलै उनले पार्टी निर्णय लिए अनुसन्धान सहयोग गर्ने स्पष्टीकरण दिएका छन् । सञ्जालमा लेखेर आफूलाई सुन पानी चोख्याउन मिल्ने भए आरोपी र अभियुक्तहरूले यही अभ्यास गर्थे जुन व्यवहारिक छैन । विवादास्पद व्यवसायी दीपक भट्टसँग शेयरमा साइनो जोडिएपछि गृहमन्त्री गुरुङ आलोचना र राजीनामाको नैतिक दबाबमा परेका छन् । दीपक भट्ट अहिले प्रहरी हिरासतमा छन् । 

बिचौलियाको उपनामले प्रख्यात भट्टसङ भट्टाभट नेक्सस देखिएपछि तनावमा परेका गृहमन्त्रीले सोमबार सञ्जालबाट दिउसो र बेलुका गरी दुई चरणमा स्पष्टीकरण दिए । तर जति पटक सञ्जालको प्रयोग गरेर गुरुङले लेखिरहेका छन् उनी त्यति नै पटक झनझन फस्दै गएका छन् ।सवाल सुधनले दिपकसंग शेयर किन्नु नै अपराध हो भन्ने किमार्थ हैन ।,उनले कून वैधानिक स्रोतबाट किने भन्ने मूलभूत प्रश्न हो । 

सार्वजनिक सञ्चारमाध्यमबाट उठेका प्रश्न र सुुधनले दिएका उत्तरका विषयमा चर्चा गरौँ ।

प्रश्न– २५ लाखको सेयर लुकाएको आरोप 

सुधनको उत्तर – सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ ।

प्रतिप्रश्न– होप होल्डिङ्ग प्रा.लि,लगुम प्रिमियम अपार्टमेन्ट प्रालि, र एडभेन्चर भिल्ला प्रालिको खुलस्त खुलाएर लेख्दा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोको नाम लेख्न किन कन्जुस्याइँ गरेको ? 

गृहमन्त्री गुरुङले सम्पत्ति विवरणमा सम्पूर्ण सेयर खरिदको स्रोत व्यवसाय र पैतृक सम्पत्ति उल्लेख गरेका छन् । तर सोमबार फेसबुकमा भने कर्जा मार्फत खरिद गरेको उल्लेख गरे । यसले उनको आफ्नै भनाई खण्डित गरेको देखिन्छ । उनले ऋण लिएको कपाली तमसुक सार्वजनिक गरे पनि उक्त ऋणको ब्यहोरा सम्पत्ति विवरणको फारममा भरेका छैनन् । यसले झनै संशय बढाएको छ । 

गुरुङले तमसुकअनुसार ऋण लिइएको रकम बैङ्किङ च्यानलमार्फत आएको दाबी गरेका छन् । सामान्यतया सेयर कारोबार गर्दा बैङ्कमा कारोबार देखाएपछि नै शेयर नाममा सर्ने हो । यो रुद्राक्षको दाना किने जस्तो नाङ्लोमा पैसा फिँजाएर खरिद बिक्री गरिँदैन । दीपक भट्टले पनि बैङ्किङ कारोबारबाटै शेयर खरिद बिक्री गरेको हुनुपर्छ । बिचौलियाको आरोप खेपेका भट्टसँग सुदन शेयर सम्बन्ध मात्रै नभै, उनको सहकार्य र सम्बन्ध पुरानो हो भन्ने कुरा सार्वजनिक तस्बिरहरूले घाम जतिकै छर्लङ्ग पारेको छ । 

भट्टसँग धेरै पल्ट एउटै मञ्च शेयर गरेको र व्यावसायिक सम्बन्ध नै रहेको देखिएकाले गृहमन्त्रीमाथि प्रश्न उठेको हो । सेकेण्डरी मार्केटबाट सर्वसाधारणले किन्न पाउने जस्तो शेयर किनेकाले प्रश्न उठेको होइन । बरु बिक्रीका लागि बजारमा न आएको तर पहुँच र सम्बन्ध भएकाले किन्न पाउने भएकै भएर प्रश्न उठेको हो । हदबन्दीभन्दा बढी जग्गा देखिएपछि प्रश्न उठेको हो । 

सुुधन पक्कै पनि केही गर्ने हुटहुटी भएका युवा हुन् । जो यो देशलाई वर्षौँदेखि विरासत बनाएर भ्रष्टहरूको साम्राज्य खडागर्नेहरु विरुद्ध योद्धाका रूपमा लड्दै थिए । भिआइपी पक्राउ गरेर उनले जुन आँट र साहस देखाए त्यो कमैमा हुन्छ । तर त्यसोभन्दै गर्दा सबै कुरामा सुुधन सही भन्ने हुँदैन । सुधनले अब यो परीक्षामा एक पटक बाहिर निस्किएर आफुसलाई सही साबित गर्नुपर्छ । हैन भने प्रश्न सुुधन, रवि बालेन र रास्वपामाथि उठिरहने छ। 

हेर्नुहोस् भिडियो:–

 


Facebook Comments