विश्वकप फुटबलमा छिर्यो राजनीति, इरानी झण्डामाथि प्रतिबन्ध

User Image मेयरसाप डेस्क | २०८३ जेठ २४ गते १३:०३
Image of https://mayorsap.com/storage/photos/shares/7b11d641-077b-49f3-bf72-ae46a8a6a5f4.png

फुटबलको महाकुम्ब सुरु हुन अब एक दिन मात्र बाँकी छ । माहोल तातिरहेको छ, तर मैदानभन्दा बाहिर अर्को खतरनाक विवादको आगो सल्किएको छ । इरानका समर्थकहरू आफ्नो टोलीलाई समर्थन गर्न अमेरिका पुगे, टिकट किनिसके, रंगशालामा पुग्ने तयारीमा छन् । तर त्यहाँ पुगेपछि उनीहरूलाई सुनाइयो एउटा यस्तो निर्णय, जसले हजारौँ समर्थकलाई स्तब्ध बनाएको छ ।

इरानी झन्डामाथि प्रतिबन्ध !

विश्वकपमा सहभागी इरानले लामो कूटनीतिक संघर्षपछि मात्रै अमेरिकी भिसा पाएको थियो । कडा प्रोटोकल र विशेष सर्तहरू स्वीकारेपछि मात्र इरानी टोलीलाई अमेरिका प्रवेशको अनुमति दिइएको थियो । नियम यति कडा छ कि अमेरिकामा खेल सकिएको दिनै टोली मेक्सिको फर्किनुपर्ने बाध्यता समेत राखिएको छ । तर अहिले सबैभन्दा ठूलो विवाद भिसाको होइन, झन्डाको बनेको छ ।
अमेरिकी प्रशासनले इरानी समर्थकहरूलाई रंगशालाभित्र वा बाहिर इरानको राष्ट्रिय झन्डा प्रदर्शन गर्न नपाइने निर्देशन जारी गरेको छ । चेतावनी पनि स्पष्ट छ— निर्देशन उल्लंघन गरे कारबाही हुन सक्छ ।

यो निर्णयसँगै विश्वकपको उत्साह बोकेर अमेरिका पुगेका सयौँ इरानी समर्थक निराश बनेका छन् । विश्वकपमा सहभागी ४८ राष्ट्रमध्ये ४७ देशका झन्डा रंगशालामा देखिनेछन्, तर इरानको मात्र देखिने छैन । इरानी समर्थकहरुको गुनासो छ– राष्ट्रिय झन्डा कुनै राजनीतिक हतियार होइन, त्यो राष्ट्रको पहिचान हो ।

युद्धको छायाँ विश्वकपसम्म
अमेरिका र इरानबीचको तनावले विश्वकपमा इरान सहभागी हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको थियो । त्यतिबेला अमेरिकाले युद्ध र राजनीतिले विश्वकपमा असर नपार्ने आश्वासन दिएको थियो । तर अहिलेको घटनाले धेरैलाई प्रश्न गर्न बाध्य बनाएको छ— के वास्तवमै फुटबल राजनीतिबाट अलग छ ? समर्थकहरूको आरोप छ, पछिल्लो राजनीतिक तनावको असर अहिले खेलकुदमाथि देखिन थालेको छ ।

फिफा पनि सतर्क 
विवादको अर्को पाटो पनि छ । इरानी समर्थकहरूले प्रयोग गर्ने केही झन्डामा सन् १९७९ को इस्लामिक क्रान्तिसँग सम्बन्धित प्रतीकहरू रहेको बताइन्छ । यही कारण सुरक्षा निकाय र आयोजकहरू थप संवेदनशील बनेका छन् ।

फिफाले पनि विश्वकपमा राजनीतिक सन्देश दिने ब्यानर र गतिविधिमाथि निगरानी बढाएको छ । प्रतियोगिता कुनै विवाद वा अप्रिय घटनामा नफसोस् भन्ने उद्देश्यले कडा सुरक्षा रणनीति अपनाइएको फिफाको दाबी छ । 
अमेरिकाको लस एन्जलस सहर इरानी समुदायको ठूलो केन्द्र मानिन्छ । यहाँको वेस्टवुड क्षेत्रलाई धेरैले “लिटिल तेहरान“ भनेर चिन्ने गर्छन् । यही सहरमा इरानका दुई महत्वपूर्ण समूह चरणका खेल हुँदैछन् । त्यसैले सुरक्षा व्यवस्थालाई असाधारण रूपमा कडा बनाइएको छ ।

फुटबलमा राजनीति छिरेको हो ? 
इरानी फुटबल संघले मैदानभित्र र बाहिर राजनीति प्रवेश गराइएको आरोप लगाएको छ । उनीहरूको भनाइ छ— खेलाडीहरू कुनै राजनीतिक एजेन्डाका प्रतिनिधि होइनन्, उनीहरू आफ्नो देशका खेलाडी हुन् ।

संघका अधिकारीहरू भन्छन्, खेलाडीहरूको एउटै लक्ष्य छ— मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने र आफ्नो राष्ट्रलाई गौरव दिलाउने । तर अहिले बहस झन् चर्किँदै गएको छ ।

राष्ट्रको झन्डा बोकेर समर्थन गर्न पाउनु समर्थकको अधिकार हो कि सुरक्षा र राजनीतिक संवेदनशीलताका कारण त्यसमा प्रतिबन्ध लगाउनु जायज हो ?

विश्वकपको मैदानमा अब केवल गोलको प्रतिस्पर्धा मात्र हुने छैन । झन्डा, पहिचान र राजनीतिको बहस पनि उत्तिकै तातिएको छ । 

अहिले सबैको नजर इरानका खेलहरूमा छ— जहाँ फुटबलसँगै एउटा ठूलो राजनीतिक विवाद पनि समानान्तर रूपमा खेलिरहेको छ ।


Facebook Comments