दरबार हत्याकाण्डको फाइल रिओपन, अरु के-के गर्दैछन् सुदन ? (भिडियोसहित)
४७ दिनपछि गृहमा सुधनको कमब्याक, पहिलो निर्णयमै दरबार हत्याकाण्डको फाइल रिओपन, २५ वर्षपछि फेरि नारायणहिटीको त्यो रात चर्चामा, सत्य खोज्ने साहस कि राजनीतिक स्टन्ट ?
अम्बिका खड्का
|
२०८३ जेठ २४ गते १३:२६
सुधन गुरुङ, ४७ दिनको अन्तरालपछि फेरि सिंहदरबारको शक्तिशाली कुर्सीमा फर्किएका छन् । तर यो पटक उनको पुनरागमन केवल मन्त्रीको कमब्याकमा सीमित रहेन । गृहमन्त्रालयमा पदभार सम्हालेको केही मिनेटमै उनले यस्तो निर्णय सुनाए, जसले २५ वर्षदेखि नेपाली राजनीतिको सबैभन्दा रहस्यमय अध्यायलाई फेरि एकपटक जिउँदो बनाइदियो ।
नारायणहिटी दरबार हत्याकाण्ड !
हो, त्यही काण्ड, जसले एकै रातमा राजा वीरेन्द्रको वंश नै समाप्त गरिदिएको थियो । त्यही घटना, जसको आधिकारिक निष्कर्षमाथि आजसम्म प्रश्न उठिरहेका छन् । नवनियुक्त गृहमन्त्री गुरुङले मंगलबार पदभार सम्हालेलगत्तै उक्त घटनालाई छानबिन गर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।
२०५८ जेठ १९ गते राति नारायणहिटी दरबारमा भएको पारिवारिक जमघटका क्रममा अचानक गोली चल्दा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका सदस्यहरूको मृत्यु भएको थियो । त्यसपछि गठन भएको उच्चस्तरीय छानबिन समितिले घटनाको मुख्य जिम्मेवार तत्कालीन युवराज दीपेन्द्र भएको निष्कर्ष निकालेको थियो । तर, उक्त प्रतिवेदनबारे आजसम्म पनि प्रश्न उठ्दै आएका छन् ।
गृहमन्त्री सुदनका अरू तीन निर्णय के छन् ?
पदभार ग्रहणसँगै गृहमन्त्री गुरुङले अन्य तीन महत्वपूर्ण निर्णयसमेत गरेका छन् । उनले जेन–जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्तासम्बन्धी सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गर्ने घोषणा गरेका छन् । त्यस्तै गृह, नेपाल प्रहरी, सशस्त्र प्रहरीजस्ता सुरक्षा निकायबाट चुहिने सूचना रोक्न सेन्सेटिभ इन्फरमेसन भिजिलेन्स टिम(एसआइभिटी) गठन गर्ने निर्णय गरेका छन् । साथै, उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई थप सशक्त बनाउने र विशेष अनुसन्धान समूह गठन गर्ने तथा पुराना अनुसन्धानका फाइलहरू पुनः खोल्ने निर्णय पनि गरेका छन् ।
सम्पत्ति छानबिन समितिले गुरुङले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि नभएको निष्कर्ष निकालेपछि प्रधानमन्त्री बालेन शाहले पुन सुदनलाई नै गृहमा फर्काएका हुन् ।
Facebook Comments