कालापानी क्षेत्रमा बिनाअनुमति भारतीय सैनिक हेलिकप्टरले लगायो फन्को (भिडियोसहित)
मेयरसाप डेस्क
|
२०८३ जेठ २९ गते १२:२४
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्रमा भारतीय सैनिक हेलिकप्टर बिना अनुमति नेपाली आकाश हुँदै उडेको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार जेठ २७ गते बिहान भारतीय इन्डो–टिबेटन बोर्डर पुलिसका महानिर्देशक शत्रुजीत सिंह कपूर सवार हेलिकप्टर छाङरुको आकाश हुँदै कालापानी क्षेत्रतर्फ गएको हो। आईटीबीपी प्रमुख कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षण गर्न गएको बुझिएको छ।
स्थानीय प्रशासनले यो उडानका लागि कुनै अनुमति नलिइएको स्पष्ट पारेको छ। सशस्त्र प्रहरी बलमार्फत जानकारी आएपछि जिल्ला प्रशासनले गृह मन्त्रालयलाई प्रारम्भिक जानकारी गराइसकेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार घटनाबारे विस्तृत विवरण संकलन गरी लिखित रूपमा मन्त्रालयलाई बुझाउने तयारी भइरहेको छ।
प्राप्त जानकारीअनुसार उक्त हेलिकप्टर कालापानी नजिक गुञ्जीस्थित ब्यारेक निरीक्षणका लागि गएको हुनसक्ने बताइएको छ।
तर नेपालको आकाश प्रयोग भएको विषयमा औपचारिक अनुमति नलिइएको स्पष्ट भएपछि यो घटनाले सुरक्षा र कूटनीतिक दृष्टिले समेत ध्यान आकर्षित गरेको छ।
जिल्ला प्रशासनले प्रारम्भिक रूपमा जानकारी गृह मन्त्रालयलाई गराइसकेको र थप अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
यो घटनापछि सीमाक्षेत्रको हवाई निगरानी, अनुमति प्रक्रिया र सुरक्षा संयन्त्रबारे पुनः प्रश्न उठेको छ। अब यस विषयमा सरकारले के कदम चाल्छ भन्ने चासो पनि बढेको छ।
यसअघि प्रधानमन्त्री बालेन साहले संसदमा ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएसँगै नेपाल–भारत सीमा विवाद पुन चर्किएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै जेठ १७ गते भारतीय सीमा सुरक्षाफोर्स (एसएसबी) नेपाली भूमि सुस्ता प्रवेश गरेका थिए । नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न उनीहरु नेपाल प्रवेश गरेका हुन् । गत शुक्रबार बिहान पनि सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले हो–हल्ला गर्दै उनीहरुलाई फर्काएका थिए । यी घटनाक्रमकैबीच कालापानी क्षेत्रमा पनि भारतीय सैनिक हेलिकप्टरले फन्को लगाएपछि स्थानीय त्रसित बनेका छन् ।
Facebook Comments