युवाका लागि सरकारको बम्पर उपहार, आकर्षक तलबसहित सरकारी जागिर (भिडियोसहित)

User Image मेयरसाप डेस्क | २०८३ जेठ २९ गते १२:३६
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-06-15-123351.png

काठमाडौं । सरकारी कार्यालयमा अब सयौँ युवाको इन्ट्री हुने भएको छ । स्नातकोत्तर पास गरेका युवालाई आकर्षक पारिश्रमिकसहित सरकारी सेवामा जोड्ने तयारी सरकारले थालेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका सरकारी कार्यालय तथा स्थानीय तहहरूमा सेवा प्रवाहलाई थप चुस्त र नागरिकमैत्री बनाउन ठूलो संख्यामा शिक्षित युवाहरू परिचालन गर्ने गृहकार्य सुरु गरेको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ‘सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधि, २०८३’ को मस्यौदा पारित भएमा देशैभरका स्थानीय तह, प्रदेश र संघीय कार्यालयहरूमा सयौँको संख्यामा सहजकर्ताहरू भर्ना हुने बाटो खुल्नेछ । 

सरकारले सेवाग्राहीको चाप बढी हुने कार्यालयहरूमा यी सहजकर्ता खटाउने योजना बनाएको छ । अनलाइन आवेदनदेखि फाराम भर्ने, कागजात यकिन गर्ने र सेवा प्रवाहलाई छिटो बनाउन उनीहरूले सहयोग गर्नेछन् ।

सबैभन्दा चासोको विषय, सहजकर्ताले मासिक प्रोत्साहन पारिश्रमिक पनि पाउनेछन् । सरकारले अधिकृत स्तर वा सहायक पाँचौँ तहको सुरुवाती तलब स्केलको ५० प्रतिशत बराबर रकम उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

यति मात्र होइन, काम पूरा भएपछि सरकारी सेवाको अनुभव खुल्ने प्रमाणपत्र पनि दिइनेछ । जसले भविष्यमा थप फाइदा पुर्‍याउन सक्छ ।

यसका लागि नेपाली नागरिक हुनुपर्छ । स्वीकृत विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेको वा शोधकार्य गरिरहेको हुनुपर्छ । उमेर भने ३० वर्षभन्दा कम हुनुपर्नेछ । महिला, दलित, जनजाति र द्वन्द्वपीडित परिवारका सदस्यलाई थप प्राथमिकता दिने व्यवस्था पनि गरिएको छ ।

सरकारको दाबी छ, यो योजनाले युवालाई प्रयोगात्मक सिकाइको अवसर दिनुका साथै सरकारी सेवा प्रवाहलाई अझ छिटो, सहज र नागरिकमैत्री बनाउनेछ ।


Facebook Comments