युवतीलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट गर्ने युवक पक्राउ
मेयरसाप डेस्क
|
२०८३ जेठ ३१ गते ११:३९
युवतीलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट गर्ने युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । युवकले खुकुरी देखाउँदै युवतीलाई कुटपिट गरेको भिडियो आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीको फन्दामा परेका हुन्।
पक्राउ पर्ने व्यक्ति, हुन् दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंकेका २४ वर्षीय रमेश ठाडा मगर ।
प्रहरीका अनुसार उनले तीन महिनाअघि एक युवतीलाई सुनसान जंगल क्षेत्रमा लगेर खुकुरी देखाएर डर–धम्कीसहित तथानाम गालि गरेका थिए ।
त्यति मात्र होइन, युवतीमाथि कुटपिट समेत गरिएको भिडियो उनले आफ्नै फेसबुक आईडीबाट सार्वजनिक गरेका छन् ।
मंगलबार बेलुका सामाजिक सञ्जालमा भिडियो भाइरल हुन थालेपछि प्रहरी तत्काल सक्रिय बन्यो ।
भिडियो सार्वजनिक भएको केही घण्टामै इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली उनको घरमा पुग्यो ।
राति करिब १० बजेर ४० मिनेटमा प्रहरीले रमेश ठाडा मगरलाई नियन्त्रणमा लियो। प्रहरीले उनलाई पक्राउ गर्दा लागुऔषध समेत बरामद गरेको जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा तुलसीपुर–२ बालापुरका २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।
प्रहरीका अनुसार भिडियोमा देखिएको कुटपिटको घटना करिब तीन महिनाअघिको हो । तर घटना लुकाएर राखिएको थियो। जब युवकले आफैं भिडियो सामाजिक सञ्जालमा पोस्ट गरे, त्यसपछि घटनाले नयाँ मोड लियो र प्रहरीसम्म पुग्यो।
अहिले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments