काठमाडौं अब थेग्न नसकिने, ट्राफिक प्रहरीको डरलाग्दो चेतावनी
झस्कियो बालेन सरकार
जनेश ठकुल्ला
|
२०८३ जेठ ३१ गते १६:५१
काठमाडौं उपत्यकामा हुने ट्राफिक जाम धेरैका लागि दैनिकी बनेको छ । बिहान कार्यालय जाने समयदेखि साँझ घर फर्किने बेलासम्म सडकमा गाडीको लाम देख्नु सामान्य जस्तै भइसकेको छ । तर, यो समस्या सामान्य अवस्थाबाट निकै गम्भीर मोडमा पुग्न लागेको भन्दै ट्राफिक प्रहरीले सरकारलाई चेतावनी दिएको छ । यदि अहिले नै ट्राफिक व्यवस्थापन, सडक पूर्वाधार र कानुनी व्यवस्थामा सुधार गरिएन भने अबको दुई वर्षभित्र काठमाडौंका सडकमा गाडी मात्रै होइन, मानिस हिँड्नसमेत मुस्किल पर्ने अवस्था आउन सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले संघीय संसद्को पूर्वाधार विकास समितिमा सार्वजनिक सवारी र ढुवानी व्यवस्थापनबारे प्रस्तुति दिँदै काठमाडौं उपत्यकाको ट्राफिक प्रणाली अब पुरानै तरिकाले चल्न नसक्ने बताएका छन् । उनका अनुसार, समस्या ट्राफिक प्रहरीको अभाव मात्रै नभई दशकौँदेखि प्रविधिमा लगानी नगर्नु, सडकको क्षमताअनुसार योजना नबन्नु, कानुन कमजोर हुनु र सवारी व्यवस्थापन अस्तव्यस्त हुनु हो ।
अहिले नेपालभर करिब ६५ लाख सवारी साधन दर्ता भइसकेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब २० लाख सवारी साधन सडकमा गुडिरहेका छन् । यति धेरै सवारी व्यवस्थापन गर्न देशभर जम्मा २५ सयदेखि २६ सयको हाराहारीमा मात्रै ट्राफिक प्रहरी छन् । अर्थात् सवारीसाधनको संख्या लगातार बढिरहेको भए पनि त्यसअनुसार ट्राफिक व्यवस्थापन गर्ने जनशक्ति, प्रविधि र पूर्वाधार भने बढेको छैन । यस्तो अवस्थामा चोक–चोकमामा उभिएर हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्न खोज्नु दीर्घकालीन समाधान हुन नसक्ने बताइएको छ ।
एसएसपी काफ्लेले अब एआईमा आधारित इन्टिग्रेटेड ट्राफिक लाइट प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अहिले काठमाडौंका धेरै ट्राफिक लाइटहरू एकआपसमा समन्वयमा छैनन् । एउटा चोकमा हरियो बत्ती बल्दा अर्को चोकमा रातो बल्ने, कतै टाइमिङ नमिल्ने र कतै लाइट नै नचल्ने समस्याले जाम झन् बढाउने गरेको देखिएको छ । सबै ट्राफिक लाइटलाई एउटै डिजिटल नेटवर्कमा जोडेर एआई प्रणालीबाट सञ्चालन गर्न सकियो भने कुन चोकमा कति गाडी छन्, कहाँ जाम बढेको छ र कुन दिशामा बढी सवारी छ भन्ने आधारमा बत्ती आफैँ नियन्त्रण गर्न सकिने उनको भनाइ छ । यसका लागि करिब १५ देखि २० अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । तर, अहिले लगानी नगर्ने हो भने भविष्यमा त्यसको मूल्य अझ धेरै चुकाउनुपर्ने उनको चेतावनी छ ।
अहिले पनि कतिपय अवस्थामा ट्राफिक जामका कारण एम्बुलेन्स समयमै अस्पताल पुग्न सक्दैन । बिरामी बोकेर हिँडेको एम्बुलेन्स लामो समयसम्म जाममा फस्ने अवस्था दोहोरिइरहेको छ । काठमाडौं उपत्यकामा दैनिक यात्रा गर्ने जो–कोहीले पनि यो समस्या महसुस गरिरहेका छन् । पाँच मिनेट लाग्ने दूरी पार गर्न आधा घण्टा लाग्ने, सवारीसाधन घण्टौं जाममा बस्ने, एम्बुलेन्स र दमकलसमेत जाममा फस्ने घटना सामान्य बन्दै गएका छन् । अहिलेको अवस्था नै यस्तो छ, भने दुई वर्षपछि अवस्था अझै भयावह बन्न सक्ने अनुमान गरिएको छ ।
ट्राफिक प्रहरीले अहिलेको जरिवाना प्रणाली पनि प्रभावकारी नभएको निष्कर्ष निकालेको छ । अहिले ट्राफिक नियम उल्लंघनमा ५ सयदेखि १ हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था हुँदा जरिवाना तिरेर चालकले फेरि गल्ती दोहोर्याउने समस्या छ । त्यसैले अब नियम मिच्नेलाई पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । विश्वका धेरै देशमा ट्राफिक नियम उल्लंघन गरेबापत ठूलो रकम जरिवाना तिर्नुपर्छ । कतिपय देशमा त बारम्बार गल्ती गरे लाइसेन्स नै खारेज हुने व्यवस्था छ । नेपालमा भने सानो जरिवाना तिरेर फेरि गल्ती दोहोरिने प्रवृत्ति कायम रहेको ट्राफिक प्रहरीको विश्लेषण छ ।
ट्राफिक प्रहरीले दुर्घटनापछि हुने विवाद कम गर्न सबै सार्वजनिक तथा निजी सवारीमा ड्यास क्यामेरा अनिवार्य गर्नुपर्ने सुझाव पनि दिएको छ । अधिकांश दुर्घटनामा कसको गल्ती थियो भन्ने प्रमाण जुटाउन कठिन हुन्छ । यदि गाडीमा ड्यास क्यामेरा भए दुर्घटनाको वास्तविक भिडियो सुरक्षित हुन्छ । त्यसले बीमा दाबी, अदालत र प्रहरी अनुसन्धान सबैलाई सहज बनाउने विश्वास गरिएको छ । यससँगै ट्राफिक प्रहरीले ड्रोन र रोबोटमार्फत ट्राफिक निगरानी बढाउनुपर्ने प्रस्ताव पनि अघि सारेको छ । विश्वका धेरै सहरमा ट्राफिक अनुगमनका लागि ड्रोन, एआई क्यामेरा र स्वचालित निगरानी प्रणाली प्रयोग भइरहेका छन् । नेपालले पनि अब त्यसतर्फ जानुपर्ने बताइएको छ ।
ट्राफिक प्रहरीले नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनबारे पनि चिन्ता व्यक्त गरेको छ । हरेक दिन २ हजारदेखि ३५ सयसम्म भारतीय नम्बर प्लेटका सवारी नेपाल प्रवेश गर्छन् । तीमध्ये धेरैजसो मालवाहक ट्रक र ठूला सवारी हुने गरेका छन् । ती सवारीले कति भार बोकेका छन् भन्ने प्रभावकारी अनुगमन गर्ने प्रणाली अझै व्यवस्थित छैन । यसका लागि सीमावर्ती नाकामा डिजिटल इन्टिग्रेटेड चेकपोस्ट, सरकारी धर्मकाँटा र स्वचालित तौल प्रणाली राख्नुपर्ने आवश्यकता छ । अत्यधिक भार बोकेका गाडीले सडक चाँडै बिगार्ने भएकाले त्यसको नियन्त्रण नगरी सडक मर्मतमा मात्रै खर्च बढाइरहनु समस्या समाधान नहुने बताइन्छ ।
पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा निजी सवारीसाधनको संख्या तीव्र गतिमा बढिरहेको छ । सार्वजनिक यातायात अझै व्यवस्थित हुन नसक्दा धेरै नागरिक मोटरसाइकल र निजी कार किन्न बाध्य भएका छन् । त्यसले सडकमा थप चाप बढाएको छ । साथै, जाम हुनुको अर्को कारण रुट इजाजत दिँदा सडकको क्षमता, चौडाइ र वास्तविक अवस्था राम्रोसँग अध्ययन गरिँदैन । साँघुरा सडकमा समेत धेरै सार्वजनिक सवारी सञ्चालनको अनुमति दिँदा समस्या झन् बढिरहेको बुझिएको छ ।
ट्राफिक प्रहरीको डरलाग्दो प्रक्षेपण बाहिरिपछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार झस्किएको छ । देशकै मुटु मानिने काठमाडौं उपत्यकाको ट्राफिक जामलाई हटाउन र सुशासनको महसुस गराउन लागिपरेको दुई तिहाइ नजिकको शक्तिशाली रास्वपा सरकार र प्रधानमन्त्री बालेनका लागि अबको दुई वर्षभित्र सडकमा मानिस हिँड्न समेत नसकिने ट्राफिक प्रहरीको चेतावनी चुनौतीको विषय बनेको छ ।
हेर्नुहाेस् भिडियाे:–
Facebook Comments