खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

निजी क्षेत्र बिना अर्थतन्त्र चल्दैन

User Image मेयरसाप डेस्क | २०८३ जेठ ३१ गते १७:११
Image of https://mayorsap.com/storage/photos/shares/photo-eb61a770.png

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका छन् । उनले लगानीमैत्री वातावरण निर्माण, कर प्रणाली सुधार र नीतिगत परिवर्तनमार्फत आर्थिक गतिविधि विस्तार गर्ने सरकारको नीति रहेको बताए ।

आर्थिक तथा व्यावसायिक गतिविधिबारे आयोजित कार्यक्रममा बोल्दै उनले करको दर घटाएर राजस्व बढाउने नीति अपनाइएको उल्लेख गर्दै व्यवसायीलाई खुला रूपमा लगानी गर्न र इमानदारीपूर्वक कर तिर्न आग्रह गरे ।

मन्त्री वाग्लेले लामो समयदेखि परिमार्जन नभएको आयकर प्रणाली सुधार गर्न आवश्यक रहेको बताउँदै एक खर्ब रुपैयाँभन्दा बढी कर बक्यौता शुल्क, जरिवाना र ब्याजका कारण थुप्रिएको बताए । उनले मूल कर तिरेपछि बाँकी जरिवाना र शुल्कमा छुट दिने व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार सरकारले निजी क्षेत्रको मागका आधारमा नभई आफ्नै पहलमा कर तथा नीतिगत सुधार अघि बढाएको हो । बजेट मात्र नभई मन्त्रिपरिषद् र अर्थ मन्त्रालयबाट पनि आवश्यक नीतिगत सुधार गर्न सकिने उनले बताए ।

अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गर्दै व्यवसायमैत्री वातावरण निर्माण, कर तिर्ने संस्कृतिको विकास र राज्यप्रति उत्तरदायित्व बढाउने नीति लिएको दाबी गरे ।


Facebook Comments