यी ३ खेलाडी चम्किँदा रोनाल्डोलाई ठूलो झट्का, गुमाए ऐतिहासिक अवसर (भिडियोसहित)

फ्यानहरुमा निराशा

User Image मेयरसाप डेस्क | २०८३ जेठ ३२ गते १२:०२
Image of https://mayorsap.com/storage/photos/shares/ronaldo.png

सन् २०२६ विश्वकप फुटबलमा बुधबार विश्व फुटबलका तीन सुपरस्टारहरूले शानदार प्रदर्शन गरे। अर्जेन्टिनाका लियोनेल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्तिमानसँग बराबरी गरे । उनले बुधबारको खेलमा थुप्रै रेकर्ड समेत बनाए ।

फ्रान्सका किलियन एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए। यता नर्वेका एर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकप खेलमै इराकविरुद्ध दुई गोल गर्दै धमाकेदार सुरुवात गरे।

तर, फुटबल जगतका अर्को महान स्टार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि भने बुधबारको दिन निकै निराशाजनक बन्यो। डिआर कंगोविरुद्धको खेलमा रोनाल्डोसँग लगातार ६ वटा फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने अवसर थियो। तर, यो खेलमा उनी असफल भए ।

खेलको छैटौं मिनेटमा जोआओ नेभेसको उत्कृष्ट हेडर गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। तर, पहिलो हाफ सकिनुअघि डिआर कंगोका योआने विसाले बराबरी गोल फर्काए।

पोर्चुगलले ७५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखे पनि खेलभरि मात्र ७ पटक गोलको प्रयास गर्यो, जसमा नेभेसको गोलबाहेक अन्य कुनै पनि प्रहार पोस्टतर्फ हुन सकेन । खेलको दोस्रो हाफमा रोनाल्डोले गोल गर्ने दुईवटा अवसर पाएका थिए, तर उनले तिनलाई सदुपयोग गर्न सकेनन्।

खेलको छैटौं मिनेटमै पोर्चुगलले लिएको अग्रता जोगाउन नसक्दा खेल १–१ को बराबरीमा सकियो।

सबैभन्दा चासोको विषय के रह्यो भने ४१ वर्षका रोनाल्डोले पूरा ९० मिनेट मैदानमा बिताए। तर खेलभर उनले जम्मा २५ पटक मात्रै बल छोए, जुन मैदानमा रहेका सबै पोर्चुगिज खेलाडीमध्ये सबैभन्दा कम थियो।

रोनाल्डोको आजको प्रदर्शनले उनका फ्यानहरुलाई निराश समेत बनाएको छ । खेलभर पोर्चुगलले ७५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्यो। तर गोलतर्फ प्रभावकारी आक्रमण गर्न भने टोली असफल रह्यो। ४१ वर्षीय रोनाल्डोले पूरा ९० मिनेट मैदानमा बिताए। यही कारण प्रशिक्षक रोबर्टो मार्टिनेजको निर्णयमाथि प्रश्न उठ्न थालेको छ।


Facebook Comments