फुटबलका सुपरस्टर लियोनेल मेस्सीको यात्राः रोगदेखि ट्रफिको भोकसम्म

११ वर्षमा रोगसँग लडे, २०१४ मा रोए, २०२२ मा विश्व जिते, २०२६ मा फेरि इतिहास लेखे — मेस्सीको अविश्वसनीय कथा

User Image गौरब थापा | २०८३ असार २ गते ११:१०
Image of https://mayorsap.com/storage/photos/shares/maxresdefault-9.jpg

२४ जुन १९८७ अर्जेन्टिनाको सानो शहर रोसारियोमा एउटा बालक जन्मिएको थियो । कसैले कल्पना पनि गरेको थिएन कि त्यो बालक एक दिन विश्वका अरबौं मानिसहरूको प्रेरणा बन्नेछ। त्यो बालक फुटबल खेलाडी बन्ने छ । विश्वकपमा ट्रफी उचाल्नेछ । आफ्‌नो देशको नामलाई विश्वभर चिनाउने छ । गोल्डेन बुट पाउनेछ । करोडौं समर्थक कमाउने छ । सामाजिक सञ्जालभर छाउने छ । त्यो बालक थियो, लियोनेल आन्द्रेस मेस्सी।

सानैदेखि मेस्सीको संसार भनेकै फुटबल थियो। बाल्यकालदेखि नै उनी फुटबललाई आफ्नो साथी बनाउँथे । पाँच वर्षको उमेरमै उनले फुटबल खेल्न थाले र पछि न्यू वेल्स ओल्ड ब्वाइज क्लबको युवा टोलीमा सामेल भए। तर जीवनले उनलाई सजिलो बाटो दिएन। जब उनी ११ वर्षका भए, डाक्टरहरूले उनको शरीरमा  “Growth Hormone Deficiency“ भएको बताए। यो भनेको शरीरको वृद्धि र विकासका लागि आवश्यक ग्रोथ हर्मोन पर्याप्त मात्रामा उत्पादन नहुने अवस्था हो, जसका कारण उनको उचाइ र शारीरिक विकास प्रभावित भइरहेको थियो । उपचार निकै महँगो थियो। परिवारसँग त्यति पैसा थिएन। धेरैको सपना त्यहीँ समाप्त हुन्थ्यो। तर मेस्सीको कथा फरक रहयो।

१३ वर्षको उमेर थियो, उनी आफ्नो परिवारसँग अर्जेन्टिनाबाट स्पेन पुगे। घर, साथीभाइ, आफ्नो शहर सबै छोडे। उनलाई बार्सिलोनाले उनको उपचार खर्च व्यहोर्ने र फुटबल खेल्ने अवसर दिने निर्णय गरेको थियो। त्यो सानो केटाले नयाँ देशमा नयाँ सपनाको साथमा नयाँ जीवन सुरु गर्यो।

उनले दिनरात मेहनत गरे। मैदानमा पसिना बगाए। आलोचना सुने। संघर्ष गरे। २००४ मा, केवल १७ वर्षको उमेरमा  उनले बार्सिलोनाको पहिलो टोलीबाट आधिकारिक डेब्यु गरे। त्यसपछि संसारले फुटबलमा एउटा नयाँ जादुगर देख्न थाल्यो। उनको बायाँ खुट्टाको जादुले विपक्षी खेलाडीहरूलाई छक्याउन थाल्यो। एकपछि अर्को कीर्तिमान बन्न थाले।

उनी आवद्ध भएको टिमले ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग सबै जित्न थाल्यो । संसारकै उत्कृष्ट खेलाडीलाई दिइने द्यबिियल म’इच पुरस्कार उनले एकपटक होइन, दुईपटक होइन, आठपटक जिते।

फुटबलमा चमत्कार गर्दै जाँदा उनको सबैभन्दा ठूलो सपना क्लबभन्दा देशकै प्रतिनिधि  भएर खेल्ने र विश्वकप जित्ने थियो । त्यतिबेलादेखि नै उनी अर्जेन्टिनालाई विश्वकप जिताउने सपना देख्थे ।

सन् २००६ मा जर्मनीमा विश्वकप हुँदै  थियो। अर्जेन्टिनाको टोलीमा एक दुब्लो–पातलो, होचो, लामो कपाल भएको १८ वर्षीय केटो पहिलो पटक विश्वकप खेल्न मैदानमा उत्रियो। संसारले उसलाई चिन्दै थियो तर अझै पूर्ण रूपमा बुझेको थिएन। त्यो केटो अरु कोही नभएर यिनै लियोनेल मेस्सी थिए । त्यही दिनदेखि हो उनले विश्वकपको यात्रा सुरु गरेको ।

सन् २०१० मा  दक्षिण अफ्रिकामा भएको विश्वकपमा अर्जेन्टिनाका समर्थकहरूले मेस्सीबाट धेरै आशा गरेका थिए। तर टोली क्वार्टरफाइनलमै रोकियो। सपना अधुरै रह्यो। सन् २०१४ मा ब्राजिलमा विश्वकप भयो । मेस्सीले आफ्नो टोलीलाई फाइनलसम्म पुर्‍याए। अर्जेटिनाले जर्मनीसँग प्रतिस्पर्धा गर्नुपर्यो । अर्जेन्टिना उपाधिबाट केवल एक कदम टाढा थियो। तर अतिरिक्त समयमा जर्मनीबाट आएको एउटा गोलले सबै सपना तोडिदियो। फाइनलको हारपछि मेस्सीले ट्रफीतिर हेर्दै मैदान छोडेको दृश्य आज पनि करोडौं समर्थकको आँखामा ताजै छ।

सन् २०१६ मा कोपा अमेरिकामा फाइनलमा हार ब्यहोरेपछि त उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा समेत गरे। त्यो दिन लाखौं समर्थक रोएका थिए। तर कहिलेकाहीँ महान व्यक्तिहरू हार मान्न जन्मिएका हुँदैनन्। मेस्सी फेरि राष्ट्रिय टोलीमा फर्किए। मैदानमा फेरि फुटबल लिएरै प्रतिस्पर्धीसँग लडाइँ जारी राखे ।

सन् २०१८ मा रुसमा विश्वकप खेलाइयो । तर मेस्सीका लागि यो वर्ष पनि निराशाजनक भयो । अर्जेटिना फ्रान्ससँग हारेर राउड १६ बाटै बाहिरियो । मेस्सीसहित उनको टोली र समर्थकहरु निरास त भए तर मेस्सीले फेरि हार मानेनन् । अन्ततः सन् २०२१ मा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्यो । मेस्सीको उचाईँ थप बढ्यो । विश्वकपमा देशलाई जिताउने उनी आफैँको सपना भने अझै बाँकी नै थियो ।

सन् २०२२ कतारमा विश्वकप आयोजना गरियो । तर अचम्म, पहिलो खेलमै साउदी अरेयिबासँग अर्जेटिनाले हार ब्यहोर्नुपर्यो । सुरुवाति खेलमा साउदी अरेबियासँगको अप्रत्याशित हारपछि संसारले अर्जेन्टिनालाई कमजोर ठान्यो। मेस्सीका समर्थकले मेस्सीको साथ छोड्न थाले । तर मेस्सीले टोलीलाई एकजुट बनाए। त्यसपछिका सबै खेलमा अर्जेटिना हाबी हुँदै गयो । मेक्सिको विरुद्ध अर्जेटिनाले जित निकाल्यो । मेस्सीले नै निर्णायक गोल गरे ।

अष्ट्रेलिया, नेदरल्यान्डस् , क्रोएसिया र फ्रान्स विरुद्ध लड्दै मेस्सीको टोली अर्जेटिनाले विश्वकप जित्यो । जब अर्जेन्टिनाले विश्वकप जित्यो, मेस्सी घुँडा टेकेर मैदानमै रोए । मेस्सीका लागि त्यो क्षण, केवल एउटा ट्रफी उपाधिको थिएन। त्यो बाल्यकालदेखि बोकेको सपनाको अन्तिम गन्तव्य थियो। त्यो करोडौं समर्थकहरूको आँसु र खुसीको क्षण थियो। सबैले सोचे, सायद मेस्सी अब विश्वकपमा देखिने छैनन् । तर बच्चादेखिको त्यो प्यासन मेस्सीले कहाँ त्याग्न सक्थे र १ सन् २०२६ मा पनि फेरि मोस्सी उदाउन थालेका छन् । उनको टिम अर्जेटिनाले अल्जेरियालाई ग्रुप चरणमै तीन गोल हान्यो ।

१७ औँ मिनेट गोल। ६०औँ मिनेट फेरि गोल। ७६ औँ मिनेट फेरि ह्याट्रिक गोल। गोल गर्ने व्यक्ति तिनै मेस्सी नै रहे । यो उनको विश्वकप करियरकै पहिलो ह्याट्रिक बन्यो । स्टेडियममा मेस्सीको नामले फ्यानको हुटिङ गुञ्जियो। समर्थकहरू भावुक भए। किनकि त्यो केवल तीन गोल थिएन। त्यो रोसारियोको एउटा सानो केटाको सपना थियो। त्यो उपचार गर्न नसक्ने अवस्थामा पुगेको बालकको संघर्ष थियो। त्यो २०१४ मा ट्रफी गुमाउँदा रोएको अर्जेटिनाको कप्तानको बिलौना थियो। त्यो २०२२ मा विश्व जित्ने योद्धाको आत्मबल थियो। र यी सबै चरण पार गरेको त्यही व्यक्तिले २०२६ मा भइरहेको विश्वकपमा पनि इतिहास लेख्न थालेको छ ।

२० वर्षअघि विश्वकपमा डेब्यु गरेको किशोरले अन्ततः विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक पूरा गर्यो। त्यो क्षणसँगै मेस्सीले विश्वकपमा १६ गोल पूरा गर्दै महान् जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजेको कीर्तिमानलाई बराबरी बनाए ।

आज फुटबलको इतिहासमा धेरै महान नामहरू छन्। तर केही नामहरू केवल इतिहासमा लेखिँदैनन्। तिनीहरू मानिसहरूको हृदयमा बस्छन्। लियोनेल मेस्सी त्यस्तै एउटा नाम हो। किनकि उनले संसारलाई एउटा कुरा सिकाए “सपना जति ठूलो भए पनि, संघर्ष जति कठिन भए पनि, यदि विश्वास जिउँदो छ भने असम्भव भन्ने शब्द हराउँछ।“
र त्यसैले।।रोसारियोको त्यो सानो केटा आज केवल खेलाडी होइन, ऊ एक भावना हो। ऊ एक प्रेरणा हो। ऊ एक युग हो। समय बित्नेछ, पुस्ता फेरिनेछन्, नयाँ स्टारहरू आउनेछन्। तर फुटबलको इतिहासमा एउटा नाम सधैं सुनिनेछ त्यो हो लियोनेल मेस्सी।


Facebook Comments