एम्बाप्पेको कीर्तिमानसँगै स्वीडेनमाथि फ्रान्सको सानदार जित, अन्तिम १६ मा महाभिडन्त पाराग्वेसँग

एम्बाप्पेले हाने ६ गोल, गोल्डेन बुटका लागि अर्जेन्टीनाका मेस्सीलाई उछिन्दै

User Image मेयरसाप डेस्क | २०८३ असार १४ गते १२:३७
Image of https://mayorsap.com/storage/photos/shares/photo-adb49e62.png

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा किलिएन एमबाप्पेको ऐतिहासिक प्रदर्शनसहित फ्रान्सले स्वीडेनलाई ३–० ले सहजै पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अत्यधिक गर्मीका बीच अमेरिकाको न्यु जर्सीमा भएको खेलमा एमबाप्पेले दुई गोल गर्दै फ्रान्सलाई एकपक्षीय जित दिलाए र विश्वकप इतिहासमै अर्को ठूलो कीर्तिमान आफ्नो नाममा लेखाए।

खेलको सुरुवातदेखि नै फ्रान्सले स्वीडेनमाथि दबाब बनाएको थियो। २०औँ मिनेटमा एमबाप्पेको गोल अफसाइडका कारण रद्द भयो भने त्यसको केहीबेरपछि उनको अर्को प्रहार पोस्टमा लागेर फर्कियो। माइकल ओलिसेको आकर्षक सिजर किक पनि पोस्टमा लाग्दा फ्रान्स केही समय निराश देखियो।

तर पहिलो हाफको इन्जुरी समयमा ओस्मान डेम्बेलेको उत्कृष्ट पासमा एमबाप्पेले डिफेन्डरलाई सहजै छल्दै शानदार गोल गरे र फ्रान्सलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै, अर्थात खेलको ५३औँ मिनेटमा माइकल ओलिसेको पासलाई ब्राडली बारकोलाले गोलमा परिणत गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ७४औँ मिनेटमा फेरि एकपटक एमबाप्पे चम्किए। उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्वीडेनको चुनौती पूर्ण रूपमा समाप्त गरिदिए।

यस खेलमा दुई गोल गरेसँगै एमबाप्पेले विश्वकपको नकआउट चरणमा मात्रै १० गोल पूरा गर्दै सबैभन्दा धेरै नकआउट गोल गर्ने खेलाडीको कीर्तिमान बनाए। यस विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ र गोल्डेन बुटको प्रतिस्पर्धामा उनी अर्जेन्टिनाका लियोनेल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।

यति मात्रै होइन, २७ वर्षकै उमेरमा एमबाप्पे विश्वकप इतिहासमा दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। उनले केवल १८ खेलमै १८ गोल पूरा गरेका छन्, जबकि अब उनी मेसीको १९ गोलको कीर्तिमानभन्दा केवल एक गोलले मात्र पछाडि छन्।

लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्य बोकेको फ्रान्सेली टोली अहिले उत्कृष्ट लयमा देखिएको छ। अन्तिम १६ मा फ्रान्सले अब फिलाडेल्फियामा पराग्वेको सामना गर्नेछ। जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै आत्मविश्वासका साथ आएको पराग्वे फ्रान्सका लागि सजिलो प्रतिद्वन्द्वी भने होइन् । 


Facebook Comments