मेक्सिको अनेकौं कीर्तिमानसहित अन्तिम १६ मा, जुलियन क्विनोनेसले बनाए रेकर्डमाथि रेकर्ड

अबको महासंग्राम को सँग ?

User Image मेयरसाप डेस्क | २०८३ असार १४ गते १२:५९
Image of https://mayorsap.com/storage/photos/shares/photo-8e15c8b2.png

काठमाडौं । फिफा विश्वकप २०२६ मा सह–आयोजक मेक्सिकोले इतिहास रच्दै ४० वर्षदेखिको नकआउट जितको प्रतीक्षा अन्त्य गरेको छ। एस्टेका स्टेडियममा भएको रोमाञ्चक खेलमा इक्वेडरलाई २–० ले हराउँदै मेक्सिकोले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। योसँगै विश्वकप इतिहासमा नकआउट चरणबाट दक्षिण अमेरिकी टोलीलाई बाहिर पठाउने पहिलो उत्तर–मध्य अमेरिकी राष्ट्र बन्ने कीर्तिमान पनि मेक्सिकोले आफ्नो नाममा लेखाएको छ।

मेक्सिको सिटीमा आएको भीषण आँधीबेहरी र चट्याङका कारण खेल एक घण्टा ढिलो सुरु भए पनि मैदानमा मेक्सिकोको आँधी रोकिएन। घरेलु टोलीले सुरुदेखि नै आक्रामक खेल देखायो। १७ वर्षीय युवा गिल्बर्टो मोराले सुरुमै खतरनाक अवसर सिर्जना गरे भने पहिलो १५ मिनेटमै मेक्सिकोले ६ वटा प्रहार गर्दै इक्वेडरमाथि दबाब बढायो।

२२औँ मिनेटमा रोबर्टो अल्भाराडोको उत्कृष्ट पासमा जुलियन क्विनोनेसले शानदार गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। त्यसको केवल ९ मिनेटपछि क्विनोनेसकै पासमा राउल जिमेनेजले दोस्रो गोल थपे, र खेलको दिशा नै परिवर्तन गरिदिए।

यो खेलका सबैभन्दा ठूलो नायक बने जुलियन क्विनोनेस। उनले एक गोल र एक असिस्ट गर्दै मेक्सिकन फुटबलका थुप्रै ऐतिहासिक कीर्तिमान बराबरी गरे। उनी सन् १९९८ पछि एउटै विश्वकपका तीन फरक खेलमा गोल गर्ने दोस्रो मेक्सिकन खेलाडी बने भने एकै विश्वकप संस्करणमा चार गोल योगदान गर्दै लुइस हर्नान्डेजको कीर्तिमान पनि बराबरी गरे। साथै, सन् १९८६ यता विश्वकपको नकआउट खेलमा गोल र असिस्ट दुवै गर्ने दोस्रो मेक्सिकन खेलाडी बन्न सफल भए।

तर यो जितको अर्को ठूलो आधार थियो—मेक्सिकोको फलामे डिफेन्स। जारी विश्वकपमा मेक्सिकोले अहिलेसम्म एक गोल पनि बेहोरेको छैन। लगातार चार खेल क्लिन सिट राख्दै सन् २००६ को स्विट्जरल्यान्डपछि यस्तो उपलब्धि हासिल गर्ने पहिलो टोली बनेको छ। अझ रोचक कुरा, मेक्सिकोले विश्वकपका पछिल्ला १५ खेलको पहिलो हाफमा एउटै गोल पनि खाएको छैन, जुन विश्वकप इतिहासकै दोस्रो लामो कीर्तिमान हो।

दोस्रो हाफमा इक्वेडरले खेलमा फर्कने प्रयास ग¥यो, तर मेक्सिकोको रक्षापंक्तिले उनीहरूलाई एउटा पनि सट अन टार्गेट गर्न दिएन। इन्जुरी समयमा डिफेन्डर पिएरो हिन्कापी रेड कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा सीमित भयो र उनीहरूको विश्वकप यात्रा त्यहीँ समाप्त भयो।

अब मेक्सिकोको अर्को चुनौती अझ कठिन छ। क्वार्टरफाइनल प्रवेशका लागि उसले अब इंग्ल्याण्ड वा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमध्ये एक टोलीसँग भिड्नेछ।


Facebook Comments