भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी मुख्य योजनाकार, अधिकांश आरोपी दोषि प्रमाणीत

अदालतको आदेशमा ओलीदेखि आरजुसम्मको नाम, बादल र टेपबहादुरका छोरा सहित ७ जनाले पाए सफाइ

User Image मेयरसाप डेस्क | २०८३ असार २१ गते १३:२१
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-07-08-131918.png

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी  दोषि ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतले मंगलबार गरेको फैसलामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी मुख्य योजनाकार र पूर्व गृहमन्त्री बालकृष्ण खाण मतियार भनी दोषी ठहर भएका छन् ।

न्यायाधीश तेज बहादुर खड्काको इजलासले उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी र बिचौलियाहरूलाई दोषी ठहर गरेको हो। बिचौलियाहरूसँग मिलेर नीतिगत सेटिङ मिलाउने र रकम असुलीमा संलग्न रहेको भन्दै रायमाझीलाई सङ्गठित ठगी र राज्य विरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।

राज्यविरुद्धको कसूरमा रायमाझीसँगै  पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, गिरोहका मुख्य सदस्यहरू केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङटावा शेर्पा दोषि ठहर भएका छन् ।

अदालतले उनीहरूलाई सबैलाई सङ्गठित ठगी र राज्यविरुद्धको कसूरमा मुख्य योजनाकार र कार्यान्वयनकर्ताको रूपमा व्याख्या गरेको छ। 

उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको ठहर भएको हो।

पूर्वगृहमन्त्री खाँणलाई सङ्गठित ठगी र सङ्गठित अपराधमा मतियारको रूपमा दोषी ठहर गरिएको छ । उनले मन्त्री पदमा रहँदा बिचौलियाको स्वार्थ अनुसार निर्णय प्रक्रियामा सहयोग पु¥याएको फैसलामा उल्लेख छ । पूर्व गृहमन्त्री खाणसहित सङ्गठित ठगीको मतियारका रुपमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, खाणका स्वकीय सचिव नरेन्द्र के.सी. र हज समितिका पूर्व अध्यक्ष शमशेर मियाँ भने दोषि ठहर भएका छन् ।

पूर्वगृहसचिव पाण्डे सरकारी लिखत किर्ते गर्ने र गिरोहलाई मन्त्रालयको गोप्य सूचना उपलब्ध गराउने कार्यमा मुख्य भूमिका रहेको अदालतको ठहर छ । तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई गृह मन्त्रालयमा बसेर भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन फेरबदल गर्ने र बिचौलियाबाट मोटो रकम लिने कार्यमा राईको प्रत्यक्ष संलग्नता देखिएको छ ।
सन्देश शर्मा र सागर राईले दाङ, बुटवल र बागलुङ क्षेत्रका सोझा नागरिकहरूलाई प्रलोभनमा पारी रकम सङ्कलन गर्ने र नक्कली परिचयपत्र वितरण गर्ने काम गरेका थिए । सानु भण्डारीको घरबाट बरामद डायरीमा कुन नेतालाई कति पैसा बुझाइयो भन्ने विवरण फेला परेको थियो, जसलाई अदालतले महत्त्वपूर्ण प्रमाणको रूपमा लिएको छ  ।

दोषी ठहर भएका सबैको सजाय निर्धारण आगामी असार २९ गते हुनेछ। यस प्रकरणमा टोपबहादुर रायमाझीका छोरासन्दीप रायमाझी, राम बहादुर थापा बादलका छोरा प्रतिक थापा, रामशरण के.सी., टंक कुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीले भने सफाइ पाएका छन् । उनीहरू विरुद्ध लगाइएको अभियोगमा पर्याप्त तथ्यगत आधार नदेखिएको भन्दै निर्दोषि सावित भएका हुन् ।

मुद्दाको अदालती आदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासम्मको नाम छ। यो ठगी प्रकरणका विभिन्न निवेदन, जाहेरी र बकपत्रहरूमा उनीहरूको नाम समावेश रहेको अदालतको आदेशले देखाउँछ। बहसका क्रममा जाहेरवालाका तर्फबाट कानुन व्यवसायीहरूले ओली र आरजु राणासहितलाई अदालतमा उपस्थित गराई बयान र बकपत्र गराउन माग गरेका थिए। बयानका क्रममा समेत नाम जोडिएपछि उनीहरुमाथि पनि अनुसन्धानको बाटो खुलेको छ । 

 


Facebook Comments