बालेन सरकारले हटायो चुच्चे नक्सा! सिक्कामा अमेरिकी सहयोग प्राप्त गुम्बा राख्ने

नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिने निर्णय

User Image मेयरसाप डेस्क | २०८३ असार ३१ गते ११:५६
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-07-18-115523.png

सरकारले १ रुपैयाँ दरको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने चर्चा चुलिएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका पाँच वटा निर्णयमध्ये एउटा थियो–नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति प्रदान गर्ने।

यो निर्णयसँगै सामाजिक सञ्जालमा सरकारले सिक्कामा रहेको चुच्चे नक्सा हटाउन लागेको भन्ने चर्चा चुलिएको हो। यो चर्चासँगै सरकार र नेपाल राष्ट्र बैंकको आलोचना समेत भइरहेको छ ।

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार सिक्का वा नोटको डिजाइन, आकार वा तौल परिवर्तन गर्नुपरे सरकारबाट स्वीकृति लिनुपर्ने हुन्छ। त्यसैले मन्त्रिपरिषद्बाट नयाँ डिजाइनको स्वीकृति आउनु भनेको डिजाइन परिवर्तनको संकेत हो। तर मन्त्रिपरिषद्को पूर्ण निर्णय सार्वजनिक नभएकाले नयाँ सिक्कामा के रहनेछ भन्ने आधिकारिक जानकारी भने अझै बाहिर आएको छैन।

यद्यपि स्रोतहरूका अनुसार अहिले सिक्काको अगाडिको भागमा रहेको नेपालको चुच्चे नक्साको सट्टा मुस्ताङको ऐतिहासिक लो घ्याकर गुम्बा राख्ने तयारी भइरहेको छ। सातौँ शताब्दीमा निर्माण भएको मानिने यो गुम्बा नेपालकै सबैभन्दा पुरानो बौद्ध गुम्बामध्ये एक हो। गुरु पद्मसम्भवसँग जोडिएको यसको ऐतिहासिक महत्वका कारण यसलाई नयाँ सिक्कामा स्थान दिन लागिएको बताइन्छ।
केही सरकारी अधिकारीहरू भने सिक्काको आकार सानो भएकाले नेपालको नक्सा स्पष्ट रूपमा अटाउन कठिन भएको बेतुकको जवाफ दिइरहेका छन् ।

यदि यही डिजाइन अन्तिम रूपमा लागू भयो भने अहिले सिक्कामा रहेको चुच्चे नक्सा स्वतः हट्नेछ। यही सम्भावित परिवर्तनले अहिले सबैभन्दा धेरै चर्चा र विवाद उब्जाएको छ। विवादको अर्को कारण पनि छ। सिक्कामा राख्न लागिएको भनिएको लो घ्याकर गुम्बाको संरक्षण अमेरिकी दूतावासअन्तर्गत सञ्चालित एम्बासडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन कार्यक्रममार्फत गरिएको थियो। यही तथ्य बाहिरिएपछि कतिपयले यो विषयलाई सांस्कृतिकभन्दा पनि भूराजनीतिक कोणबाट हेर्न थालेका छन्। 

२०७७ सालमा संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्साले नेपालको आधिकारिक मान्यता पाएको थियो। त्यसको केही समयपछि २०७८ सालमा यही नक्सा अंकित सिक्का सार्वजनिक गरिएको थियो। करिब पाँच वर्षपछि यही प्रतीक फेरिन सक्ने सम्भावनाले धेरैको ध्यान तानेको छ।


Facebook Comments