फिफाको सरप्राइज गिफ्टः जित्ने टोलीका खेलाडीलाई ‘च्याम्पियनसिप रिङ’, यस्ता छन् चकित पार्ने विशेषता

फुटबल समर्थकका लागि पनि बनाइयो झन्डै २ हजार पिस औंठि

User Image मेयरसाप डेस्क | २०८३ असार ३१ गते १२:२२
Image of https://mayorsap.com/storage/photos/shares/fifa-championship-ring.jpg

पाँच सातादेखिको रोमाञ्चक यात्रापछि विश्वकप अब अन्तिम मोडमा आइपुगेको छ। मैदानभित्र ट्रफी जित्ने लडाइँ चलिरहँदा फिफाले मैदानबाहिर पनि नयाँ इतिहास रच्न अनेकौं नयाँ र कीर्तिमानि गतिविधि गरिरहेको छ। सुरुमा ऐतिहासिक रूपमा तीन राष्ट्रलाई संयुक्त रूपमा आयोजक राष्ट्र बनाएको फिफाले सर्वाधिक ४८ राष्ट्रबिच विश्वकप खेलायो । इतिहासकै सबैभन्दा धेरै आम्दानी गर्ने लक्ष्य, उच्च पुरस्कार राशि, महंगो टिकट, सुपरस्टारको प्रस्तुतीसम्मले यो विश्वकपलाई थप रोमाञ्चक बनाएको छ । यसैबीच फिफाले विश्वकप विजेता टोलीका खेलाडीलाई सरप्राइज गिफ्टको समेत प्लान बनाएको छ । यसपटक विश्व विजेता टोलीका खोलाडीले ट्रफीसँगै विशेष च्याम्पियनसिप रिङ पनि प्राप्त गर्ने भएका हुन्।

आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा अर्जेन्टिना र स्पेनबीच हुने फाइनलपछि विजेता टोलीका खेलाडी र अफिसियललाई यो आकर्षक औँठी प्रदान गरिनेछ। फिफाका अनुसार वास्तविक सुन र हिराले सजाइएको यो औँठी विश्वकप विजेताको नयाँ पहिचान बन्नेछ।

औँठीको डिजाइन पनि निकै विशेष बनाइएको छ। एउटा भागमा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफी अंकित हुनेछ भने अर्को भागमा विजेता टोलीको पहिचान झल्किने गरी विशेष डिजाइन राखिनेछ। यसले प्रत्येक च्याम्पियन टोलीलाई आफ्नो जितको सम्झना जीवनभरका लागि सुरक्षित गर्नेछ।

विश्व फुटबलमा यो अभ्यास पहिलो भए पनि अमेरिकी खेलकुदमा भने यस्तो परम्परा निकै पुरानो छ। एनबिए वा सुपर बाउलका च्याम्पियन टोलीलाई वर्षौंदेखि च्याम्पियनसिप रिङ प्रदान गरिँदै आएको छ। अहिले फिफाले पनि त्यही परम्परा विश्व फुटबलमा भित्राएको हो।

फाइनलको रात भने खेलाडीले वास्तविक औँठी पाउने छैनन्। पुरस्कार वितरण समारोहमा उनीहरूलाई त्यसको विशेष प्रकृति प्रदान गरिनेछ। त्यसपछि प्रत्येक खेलाडी र अफिसियलको औँलाको नापअनुसार वास्तविक औँठी तयार पारेर फिफाले हस्तान्तरण गर्नेछ।

यता फिफाले विश्वकप २०२६ को सम्झनालाई अझ विशेष बनाउन कुल दुई हजार छब्बीस वटा औँठी उत्पादन गर्ने योजना बनाएको छ। तीमध्ये केही औँठी मात्र विश्व विजेता टोलीका सदस्यका लागि रहनेछन् भने बाँकी एक हजार नौ सय छयानब्बे वटा विश्वभरका फुटबल समर्थकका लागि बिक्रीमा राखिनेछ। समर्थकले पनि विश्वकप इतिहासको एउटा अमूल्य सम्झना आफ्नै संग्रहमा राख्न सक्नेछन्।

विश्वकपमा यसअघि ट्रफी, पदक र स्वर्णिम क्षणको मात्रै चर्चा हुन्थ्यो। तर अबदेखि विश्व विजेताको सफलतालाई चम्काउने अर्को नयाँ प्रतीक पनि थपिएको छ— हिरा र सुनले सजिएको च्याम्पियनसिप रिङ।


Facebook Comments