विश्वकप उपाधिका लागि आज मध्यरातमा अर्जेन्टिना र स्पेन आमनेसामने हुँदै, कसले उचाल्छ ट्रफी ?

गुगलले देखायो स्पेनले जित्ने सम्भावना, मेसीले वास्तविक जादु देखाउने अपेक्षा, गुरु–चेलाबीचको भिडन्तले रोमाञ्चक बन्दै खेल

User Image मेयरसाप डेस्क | २०८३ असार ३२ गते १२:४७
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-07-19-124623.png

फिफा विश्वकप २०२६ को फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र युरोपियन पावरहाउस स्पेन आमनेसामने हुँदैछन्। यो खेल नेपाली समयअनुसार आज मध्यराति १२ः४५ बजे अमेरिकाको प्रतिष्ठित मेटलाइफ स्टेडियममा हुनेछ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा छ। समग्रमा यो अर्जेन्टिनाको चौथो विश्वकप उपाधिको अभियान हो।

उता, कप्तान रोड्रीको नेतृत्वमा रहेको स्पेन १६ वर्षपछि फेरि विश्वकप फाइनलमा पुगेको छ। सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने सपना बोकेको स्पेन यसपटक युवा र अनुभवी खेलाडीको उत्कृष्ट मिश्रणसहित मैदान उत्रँदैछ।

गुुगल प्रेडिक्सनले खेल स्पेनले जित्ने सम्भावना ४२ प्रतिशत र अर्जेन्टिनाले जित्ने २७ प्रतिशत देखाएको छ । खेल अतिरिक्त समयमा जाने सम्भावना ३१ प्रतिशत रहेको देखिन्छ । जसले खेललाई झनै प्रतिक्षित बनाएको छ । 

योसँगै अर्जेन्टिनी लेजेन्ड मेसी र स्पेनका युवा सनसनी लामिन यमाल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आमने–सामने हुँदैछन्। यो खेललाई गुरु–चेलाबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ । यमालका लागि मेसी सधैँ आदर्श खेलाडी हुन भने यमाललाई फुटबलमा मेसीका उत्तराधिकारीका रुपमा समेत लिइन्छ ।

अब यी नै दुई लिजेन्ड विश्वकप उपाधिका लागि एक–अर्काविरुद्ध मैदानमा उत्रिने भएपछि विश्वकपको फाइनल खेल निकै रोमाञ्चक र ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा ८ गोल गरिसकेका मेसी छैटौँ विश्वकप खेलिरहेका छन् र लगातार दोस्रो विश्वकप जितेर आफ्नो ऐतिहासिक करियरलाई थप स्वर्णिम बनाउन चाहन्छन्। अर्जेन्टिनाले यस विश्वकपमा सर्वाधिक १९ गोल गरिसकेको छ। उता स्पेन भने लगातार ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको टोली हो।

स्पेनका कप्तान रोड्रीले प्रतियोगितामा सर्वाधिक ६४८ पास पूरा गरेका छन् भने युवा स्टार लामिन यामलले सबैभन्दा धेरै ३० ड्रिब्लिङ गरेका छन्।

गोल्डेन बुटको दौडमा पनि सबैको नजर मेसीमाथि हुनेछ। यद्यपी एम्बाप्पेलाई उछिनेर गोल्डेन बुट आफ्नो खुटटमा पार्न मेसीले यो खेलमा कम्पनीमा २ गोल गर्नै पर्ने दबाब छ । त्यसैगरी मेसीको विश्वकपमा सर्वाधिक गोलकर्ताको रेकर्ड समेत तोडेर फ्रान्सका एम्बाप्पेले कीर्तिमान बनाएका छन् । यो खेलमा मेसीलाई एम्बाप्पेको उक्त कीर्तिमान तोड्दै सर्वाधिक गोलकर्ताको रेकर्ड आफ्नै नाममा फर्काउको चुनौती पनि छ । 

फाइनलमा सबैभन्दा बढी ध्यान तान्ने खेलाडीहरूमा अर्जेन्टिनाका लियोनल मेसी, लौटारो मार्टिनेज, क्रिस्टियन रोमेरो तथा स्पेनका लामिन यामल, मिकेल ओयार्जाबाल र युवा डिफेन्डर पाउ क्युबार्सी रहनेछन्।

त्यसैगरी, स्पेनका गोलकिपर उनाई सिमोन र अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज पनि खेलको नतिजा बदल्न सक्ने खेलाडीका रूपमा हेरिएका छन्।

अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा शतप्रतिशत जित निकालेको अर्जेन्टिनाले नकआउट चरणका सबै खेलमा संघर्षपूर्ण जित निकाल्दै उपाधि नजिक पुगेको हो। समूह चरणको खेलमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै अर्जेन्टिना शतप्रतिशत नतिजासहित समूह विजेता बनेको थियो । राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको अर्जेन्टिनाले प्रि क्वाटरफाइनलमा इजिप्टविरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै ३–२ कै जित हात पारेको थियो । क्वाटरफाइनलमाअतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको थियो ।

त्यसैगरी स्पेन समुह चरणको पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले साउदी अरेबियालाई ४–० उरुग्वेलाई १–० ले पराजित गर्दै आफ्नो समूहको विजेता बनेको थियो । राउण्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले र प्रिक्वाटरफाइनलमा छिमेकी पोर्चुगललाई १–० ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्यो । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

हेड टु हेड तथ्यांक हेर्ने हो भने यी दुई टोलीबीच हालसम्म भएको १४ भेटमा अर्जेन्टिना र स्पेनले ६–६ खेल जितेका छन् भने २ खेल बराबरी भएको छ । विश्वकपमा भने यी दुई टोली एक पटक मात्र भिडेका छन् । सन् १९६६ को फिफा विश्वकपको समूह चरणको खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो।

तथ्यांक हेर्दा र दुवै टोलीको इतिहास हेर्दा फाइनल खेल कडा प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । मेसी र यमालको भिडन्तले खेललाई अझै रोमाञ्चक बनाउने छ । अब विश्वकपको उपाधि कसले उचाल्छ ? त्यो भने मैदानले नै तय गर्नेछ । 

 


Facebook Comments