ह्वात्तै बढ्यो काठमाडौंमा जग्गाको मूल्य, आनाकै करोड छेउ, कहाँको मूल्य कति पुग्यो?

सबैभन्दा महंगो दरबारमार्ग, एक आनाको न्यूनतम मूल्य पनि ७६ लाख

User Image मेयरसाप डेस्क | २०८३ साउन ४ गते १४:५५
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-07-22-144653.png

काठमाडौं उपत्यकामा घरजग्गा किन्ने, बेच्ने वा नामसारी गर्ने योजना छ भने यो खबर तपाईंका लागि अत्यन्तै महत्त्वपूर्ण छ। किनकि काठमाडौं उपत्यकाका जग्गाहरूको न्यूनतम मूल्यांकन अहिले बढेको छ। 

कतै प्रतिआना पाँच लाख ७० हजार रुपैयाँसम्म मूल्य थपिएको छ भने कतै प्रतिआना जग्गाको मूल्य ७६ लाख रुपैयाँ नाघेको छ। 
आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं उपत्यकाका विभिन्न भूमि प्रशासन कार्यालयले नयाँ न्यूनतम मूल्यांकन अर्थात् थैली अंक सार्वजनिक गरेका छन्। डिल्लीबजार, चाबहिल, कलंकी, टोखा र मनमैजु क्षेत्रका अधिकांश जग्गाको सरकारी मूल्यांकन बढाइएको छ।

सबैभन्दा ठूलो वृद्धि भने चाबहिल क्षेत्रमा देखिएको छ। चक्रपथसँग जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाको सरकारी मूल्य प्रतिआना ५७ लाखबाट बढेर ६२ लाख ७० हजार रुपैयाँ पुगेको छ। अर्थात् एकै वर्षमा ५ लाख ७० हजार रुपैयाँ वृद्धि भएको छ ।

मित्रपार्क, कालोपुल, रातोपुल, चाबहिल चोक हुँदै जोरपाटीसम्मका मुख्य सडक किनारका जग्गाको सरकारी मूल्य पनि प्रतिआना ५० लाख ६० हजारबाट ५५ लाख ६६ हजार रुपैयाँ पु¥याइएको छ।

बौद्ध स्तूपा वरपरका जग्गाको सरकारी मूल्य पनि बढेर ४८ लाख ९५ हजार रुपैयाँ प्रतिआना पुगेको छ। सबैभन्दा महँगो सरकारी मूल्य भने डिल्लीबजार क्षेत्रमै कायम भएको छ। दरबारमार्ग, न्यूरोड, कान्तिपथ, जमल, इन्द्रचोक, रत्नपार्क, सुन्धारा, माइतीघर, पुतलीसडक, कमलादीलगायतका मुख्य सडक किनारका जग्गाको न्यूनतम सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०८२–८३ मा यी स्थानहरूको जग्गाको न्यूनतम मूल्यांकन ७२ लाख ६० हजार रुपैयाँ थियो।

पुतलीसडक–बागबजार–रत्नपार्क, पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्को मुलबाटो, पद्मोदय मोडलदेखि सभागृह चोकसम्मको मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको सरकारी मूल्य पनि बढेर ५६ लाख रुपैयाँ प्रतिआना पुगेको छ।

भूमि प्रशासन कार्यालय कलंकीले आफ्नो क्षेत्राधिकारभित्र पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिआना २ लाख ३५ हजार रुपैयाँसम्म बढाएको छ। 

बल्खुदेखि वनस्थलीसम्म चक्रपथसँग जोडिएका जग्गाको सरकारी मूल्य ४७ लाखबाट ४९ लाख ३५ हजार रुपैयाँ पुगेको छ।

कालिमाटी, बल्खु, रविभवन र सोल्टीमोड आसपासका मुख्य सडक किनारका जग्गाको सरकारी मूल्य पनि ४३ लाख रुपैयाँ प्रतिआना निर्धारण गरिएको छ। टेकु कालिमाटी मूल सडकको विष्णुमति पुलदेखि उत्तर तर्फ नगर १५ को सीमानासम्मको मूल लिंक सडक दायाँ बायाँका जग्गाहरूको न्यूनतम मूल्यांकन ३२ लाख ५० हजार रुपैयाँ तोकिएको छ। गत वर्ष यी जग्गाहरूको न्यूनतम मूल्यांकन ३१ लाख रुपैयाँ थियो।

यता टोखाको नारायणस्थान जाने सडक किनारका जग्गाको सरकारी मूल्य बढेर प्रतिआना २२ लाख २५ हजार रुपैयाँ पुगेको छ। मनमैजु, नेपालटार र नयाँ पुल आसपासका मुख्य सडक किनारका जग्गाको सरकारी मूल्य २० लाखबाट बढेर २२ लाख रुपैयाँ प्रतिआना कायम गरिएको छ। भक्तपुरले भने अघिल्लो वर्षकै मूल्य कायम राखेको छ। ललितपुरका भूमि प्रशासन कार्यालयहरूले अझै नयाँ मूल्य सार्वजनिक गरेका छैनन्।

भूमि प्रशासन कार्यालयहरूले सडकको पहुँच, जग्गाको उपयोग, बजारमा भइरहेको खरिदबिक्री, स्थानीय तहको सुझाव तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिकालाई आधार बनाएर प्रत्येक वर्ष यस्तो मूल्यांकन गर्ने गरेका छन्।

 


Facebook Comments