ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र आएपछि विद्यार्थीले भने– ‘सर, सोलुसन पनि पठाइदिनुस न’

त्रिविको विश्वसनीयतामाथि फेरि उठ्यो गम्भीर प्रश्न

User Image मेयरसाप डेस्क | २०८३ साउन ८ गते १२:३५
Image of https://mayorsap.com/storage/photos/shares/tu.png

त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली फेरि एकपटक गम्भीर विवादमा तानिएको छ। व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको साउन ८ गते ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको पाँच मिनेट नबित्दै प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएको खुलासा भएको हो।

 ‘एमबीएस फस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र शेयर गरिएको थियो । सार्वजनिक भएका स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ। त्यसपछि एक परीक्षार्थीले ‘सर, सोलुसन पनि पठाइदिनु न’ भन्दै सन्देश पठाएका छन् भने केही मिनेटपछि फेरि एउटा पीडीएफ फाइल पनि शेयर गरिएको देखिन्छ। त्यही ग्रुपका अर्का सदस्यले ‘अब इकोनोमिक्सको परीक्षामा ढिला आउँछु, यसरी नै प्रश्नपत्र हालिदिनुहोला’ भन्दै लेखेको सन्देशले झन् ठूलो आशंका जन्माएको छ। उक्त ह्वाट्सएप ग्रुपमा एक हजारभन्दा बढी सदस्य रहेको खुलेको छ।

घटनापछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीन कार्यालयले तत्काल साइबर ब्युरोलाई पत्राचार गर्दै प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान गर्न आग्रह गरेको छ। स्क्रिनसटमा देखिएका नाम, फोन नम्बर र सम्भावित संलग्न व्यक्तिको पहिचान गरी कडा कानुनी कारबाही गर्न पनि अनुरोध गरिएको छ।

यता, परीक्षा नियन्त्रण महाशाखाले पनि तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात कार्यदिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।  


Facebook Comments