नेपालको आपत्तिबीच लिपुलेकबाट भारत–चीन व्यापार सुरु
मेयरसाप डेस्क
|
२०८३ साउन १७ गते १२:५३
काठमाडौं । नेपालको निरन्तर आपत्तिका बाबजुद भारत र चीनले नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै सीमा व्यापार पुनः सञ्चालनमा ल्याएका छन्।
भारतीय सञ्चारमाध्यमले उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेक दर्रा हुँदै भारत–चीन सीमा व्यापार औपचारिक रूपमा पुनः सुरु भएको उल्लेख गरेका छन्। पहिलो चरणमा भारतीय व्यापारीहरूको टोली शनिबार चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ताक्लाकोट मण्डी पुगेको जनाएको छ।
भारतीय पक्षका अनुसार आवश्यक अध्यागमन तथा सीमा सम्बन्धी सबै प्रक्रिया पूरा भएपछि व्यापारिक गतिविधि सुरु गरिएको हो।
धार्चुलाका उपविभागीय मजिस्ट्रेट आशिष जोशीका अनुसार इन्डो–तिब्बती व्यापार संघका अध्यक्ष जीवन सिंह रौक्लीको नेतृत्वमा १६ जना दर्ता भएका व्यापारी र चार जना सहयोगीसहित २० सदस्यीय टोलीले गुन्जीस्थित अध्यागमन कार्यालयमा औपचारिकता पूरा गरेको थियो। टोलीले नाबिधाङमा रात बिताएर शनिबार बिहान लिपुलेक दर्रा पार गरी तिब्बत प्रवेश गरेको थियो।
शनिबार बिहान चिनियाँ अधिकारीहरूले आवश्यक प्रक्रिया पूरा गरेपछि भारतीय व्यापारीहरूलाई तिब्बत प्रवेशको अनुमति दिएका थिए। त्यससँगै सन् २०२६ को भारत–चीन सीमा व्यापार सिजन औपचारिक रूपमा सुरु भएको भारतीय पक्षले जनाएको छ।
जोशीका अनुसार बाँकी दर्ता भएका व्यापारीलाई पनि चरणबद्ध रूपमा ताक्लाकोट पठाउने तयारी भइरहेको छ। त्यसका लागि चिनियाँ अधिकारीहरूसँग समन्वय भइरहेको उनले बताएका छन्।
लिपुलेक क्षेत्र नेपालको दार्चुला जिल्लाअन्तर्गत लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको हिस्सा हो। नेपालले आफ्नो नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा समेत यस क्षेत्रलाई समेटेको छ।
यसअघि चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुवै देशले नेपालसँग कुनै परामर्श नगरी लिपुलेक नाकाबाट सीमा व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेका थिए। त्यस निर्णयप्रति नेपाल सरकारले औपचारिक आपत्ति जनाउँदै आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न दुवै देशलाई आग्रह गरेको थियो।
Facebook Comments