अबको केही घण्टामा चन्द्रमामा ठोक्किँदै ४ टनको रकेट, पृथ्वी र मानिसमा कस्तो पर्न सक्छ असर ?
मेयरसाप डेस्क
|
२०८३ साउन २० गते ११:५६
अमेरिकी कम्पनी स्पेसएक्सको रकेटको एउटा विशाल टुक्रा आज चन्द्रमामा उच्च गतिमा ठोक्किने भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी समयअनुसार बिहान २ः३५ बजे, अर्थात् नेपाली समयअनुसार आज दिउँसो करिब ४ टन तौलको यो रकेटको भाग चन्द्रमाको पश्चिमी किनारस्थित आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रतिघण्टा करिब ८ हजार ६९० किलोमिटरको गतिमा ठोक्किने अनुमान गरिएको छ।
वैज्ञानिकहरूका अनुसार ठक्करपछि चन्द्रमाको सतहमा नयाँ खाडल बन्नेछ भने ठूलो मात्रामा धुलो र ढुंगाका कण अन्तरिक्षमा उड्नेछन्। उक्त धुलो सूर्यको प्रकाशमा चम्किन सक्ने भए पनि पृथ्वीबाट नांगो आँखाले देख्न कठिन हुने वैज्ञानिकहरूको भनाइ छ ।
यो रकेटको भाग सन् २०२५ मा स्पेसएक्सको फाल्कन–९ रकेटबाट प्रक्षेपण गरिएको थियो। इन्धन सकिएपछि नियन्त्रणबाहिर पुगेको दोस्रो चरण सौर्य गतिविधि र गुरुत्वाकर्षणको प्रभावका कारण अन्ततः चन्द्रमातर्फ पुगेको स्पेसएक्सले जनाएको छ। कम्पनीले यो ठक्कर नियोजित नभएको स्पष्ट पारेको छ।
वैज्ञानिकहरूका अनुसार यसबाट करिब तीन टन टीएनटी विस्फोट बराबरको ऊर्जा निस्कने र २७ मिटर चौडा तथा ५ मिटर गहिरो खाडल बन्न सक्ने अनुमान छ। नासाको लुनार रिकोनिसेन्स अर्बिटर र दक्षिण कोरियाको दानुरी अर्बिटरले ठक्करअघि र त्यसपछिका दृश्य कैद गरी अध्ययन गर्ने तयारी गरेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार यस घटनबाट केही वैज्ञानिक जानकारी प्राप्त हुन सक्ने भए पनि यसले मानिस वा अन्तरिक्ष यात्रामा तत्काल कुनै खतरा पर्दैन । यद्यपि, अन्तरिक्ष फोहोर व्यवस्थापनमा देखिएको लापरवाहीबारे यसले प्रश्न उठाउने वैज्ञानिकहरुको भनाइ छ ।
Facebook Comments