९ घण्टापछि सुधारे प्रधानमन्त्रीले बोलि, एक्लै भएँ भन्ने गुनासोपछि देखाए ‘टिमवर्क’ को प्रगति
रुग्ण उद्योग सुधारको बाटोमा फर्किएको दाबी, सार्वजनिक गरे ५ बुँदे प्रगति विवरण
मेयरसाप डेस्क
|
२०८३ साउन २३ गते १२:२८
प्रधानमन्त्री बालेन शाहले ९ घण्टाको फरकमा दुई वटा स्टाटस पोस्ट गरेका छन् । सरकारको कार्यशैलीप्रति सत्तारुढ दल रास्वपाकै सांसदहरुले आलोचना गर्न थालेपछि शुक्रबार मध्यरातमा भावुक पोस्ट गरेका बालेनले शनिबार बिहानै रुग्ण उद्योगका प्रगित सार्वजनिक गरेका छन् ।
रातिको स्टाटसमा ‘एक्लै भएँ भन्ने संकेत’ गरेका प्रधानमन्त्रीले बिहानको स्टाटसमा भने ‘टिमवर्क’ का कारण रुग्ण उद्योग सुधारको गतिमा रहेको उल्लेख गरेका छन् ।
उनले वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका सरकारी उद्योग तथा संस्थान अब विस्तारै तङ्ग्रिन थालेको दाबी गरेका छन् । लामो समयदेखि अस्तित्वकै संकटमा रहेका उद्योगलाई पुनः सञ्चालन र प्रतिस्पर्धी बनाउने प्रयास थालिएपछि केही संस्थानमा आशालाग्दा परिणाम देखिन थालेको प्रधानमन्त्री बालेनको भनाइ छ ।
नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामै २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको उनले जानकारी दिएका छन् । उनका अनुसार गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको छ भने चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै, लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारीसहित नेपाली सेनाको जिम्मामा परीक्षण उत्पादन सुरु भइसकेको समेत बालेनले उक्त स्टाटसमार्फत जानकारी गराएका छन् ।
उनले नेपाल वायुसेवा निगमको आम्दानी पनि बढेको दाबी गरेका छन् । उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो १ अर्ब १० करोड रुपैयाँभन्दा बढी हो ।
उता, दुग्ध विकास संस्थान (डिडिसी)ले किसानको बक्यौता भुक्तानीको चक्र छोट्याएको छ भने दैनिक राजस्व ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको उनको दाबी छ ।
सिंहदरबार वैद्यखानाको औषधि कारोबार पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणाले बढेर करिब १३ करोड रुपैयाँ पुगेको प्रधानमन्त्री बालेनले जानकारी गराएका छन् ।
उनले यी उपलब्धिलाई राष्ट्रिय उद्योग पुनर्जीवनको सुरुवात भन्दै अन्य रुग्ण संस्थानलाई समेत आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने दाबी गरेका छन् ।
Facebook Comments