प्रधानमन्त्री बालेनले बदले शैली, भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ताको मिति तय

कूटनीतिक सम्बन्धमा किन बढाउँदै छन् सक्रियता?

User Image मेयरसाप डेस्क | २०८३ साउन २४ गते १२:४१
Image of https://mayorsap.com/storage/photos/shares/balen-new-f8a9dd1c.jpg

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजनामा रहेका प्रधानमन्त्री शाहले सोमबार भने भारत र चीनका राजदूतसँग अलग–अलग भेटवार्ता गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, सोमबार अपराह्न ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता मात्र गर्दै आएका थिए । गत चैत २५ गते भएको सामूहिक भेटवार्तामा विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजना बनाएका बालेनले पछिल्लो समय आफ्नो शैली परिवर्तन गर्न थालेका छन् । उनले गत असार २३ गते एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग सिंहदरबारमा एक्लाएक्लै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको भारतीय र चिनियाँ राजदूतसँग हुने भेटलाई नेपालका दुई प्रमुख छिमेकीसँगको कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।


Facebook Comments