मतदाताले चुनावअघिको वाचा सम्झाउँदा गृहमन्त्री सुधनले भने–भोट फिर्ता लैजानुस्
मेयरसाप डेस्क
|
२०८३ भदौ ०१ गते १२:०७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग गोरखाको शहीद लखन गाउँपालिका–९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न माग गर्दा ‘भोट फिर्ता लैजानु’ भन्ने जवाफ दिएका छन् ।
केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र गोरखा १ का विभिन्न गाउँ पुगेर जनताका गुनासा र समस्या सुन्दै आएका गृहमन्त्री गुरुङको यो जवाफ अहिले चर्चामा छ ।
आइतबार साँझ सहिद लखन गाउँपालिकाको नाम्जुङमा गृहमन्त्री सुधन र स्थानीयहरूबीच छलफल भएको थियो ।
सोही क्रममा सुधनले पहिले गरेको एउटा वाचाको प्रसंग उप्कियो। ल्याब सञ्चालनका लागि पहल गर्ने र आगामी बजेटमा यो कार्यक्रम पार्ने त्यसबेला सुधनले प्रतिबद्धता जनाए पनि बजेटमा उक्त कार्यक्रम नदेखिएको भन्दै स्थानीयले गृहमन्त्रीलाई प्रश्न गरेका थिए।
जवाफमा गुरुङले यति सानो सानो बजेट किताबमा राख्ने हो भने महाभारत बन्छ भनेका छन् । बजेटका लागि स्थानीय तहबाट लिस्ट मगाएको र त्यसै अनुसार काम भइरहेको प्रष्टीकरण दिने प्रयास गरेका छन् ।
‘तपाईंलाई काम भए पुग्ने होइन र? चार महिनामा म कायापलट गर्न चाहिँ सक्दिनँ। भोट लिएर जानुस् फिर्ता,’ गृहमन्त्रीले भने। यसपछि छलफलमा सहभागीहरू हाँसेका थिए। प्रश्नकर्ताले ‘अब जिताएर पठाइहालियो, कहाँबाट भोट फिर्ता ल्याउने? पहिल्यै भन्नुपर्थ्यो नि हजुरले’ समेत भनेका छन्।
गृहमन्त्रीले भने आफू प्रष्ट मानिस भएकोले पहिल्यै यो कुरा भनिसकेको बताए।
‘मलाई ५ वर्ष हेर्नुस्, काम गर्न दिनुस्, चित्त बुझेन भने अर्को पटक मलाई नजिताउनुस्, ४ महिनामा बल्ल बजेट चलाउन पाएको १५र२० दिन भयो अनि अहल्यै चाहियो भनेर पाइन्छ,’ गृहमन्त्रीको भनाइ थियो।
गृहमन्त्री गुरूङले ल्याबका लागि सामान मात्रै किनेर नहुने र यसका लागि कर्मचारी दरबन्दीलगायत चाहिने पनि बताए। दरबन्दीका लागि अर्थ मन्त्रालयको सहमति लिनुपर्ने उनको भनाइ छ। विधि र प्रक्रिया पुर्याउन पनि समय लाग्ने उनले बताएका थिए।
Facebook Comments