भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ नेपाल आउँदै, प्रधानमन्त्री बालेनसँग पनि भेट्ने

User Image मेयरसाप डेस्क | २०८३ साउन ३१ गते १४:१२
Image of https://mayorsap.com/storage/photos/shares/sethi.png

भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ चार दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । उनी आजै अपराह्न ४ बजेतिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि राजाराम बस्नेतका अनुसार सोमबार प्रधान सेनापति सेठले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको छ।

नेपाल–भारतबीच सन् १९५० देखि एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। उनी गत जुन ३०मा भारतको ३१औं प्रधान सेनापति नियुक्त भएका थिए।

उनले प्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहेका बालेन्द्र शाहसँग पनि भेट्ने सम्भावना छ। प्रवक्ता बस्नेतले भेटका लागि पत्राचार गरिएको भए पनि जबाफ प्राप्त भइनसकेको बताए।

प्रधानमन्त्री शाहकी प्रेस तथा विज्ञ सल्लाहकार दिपा दाहालले पनि आफूले यस विषयमा जानकारी प्राप्त गरिनसकेको बताइन्।


Facebook Comments