अयोध्याको रेल जनकपुरमा, झण्डा बोकेर भव्य स्वागत!

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०८ गते १०:२२
Image of https://mayorsap.com/storage/photos/shares/rail.jpg

काठमाडौं । भारतको अयोध्याबाट छुटेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। रेल जनकपुर आइपुग्दा त्यहाँको दृश्य निकै उत्साहपूर्ण देखिएकाे छ। रेलमा सवार तीर्थयात्रीलाई स्वागत गर्न सरकारी टोलीदेखि सर्वसाधारणसम्म नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर रेल्वे स्टेशनमा पुगेका थिए। दुवै देशका झण्डा फहराउँदै उनीहरूको स्वागत गरियो भने फूलमाला लगाएर पनि अभिनन्दन गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट संयुक्त रूपमा झण्डा देखाएर उद्घाटन गरेपछि अयोध्याबाट जनकपुरका लागि छुटेको रेल आज बिहान यहाँ आइपुगेको हो। १७ वटा डब्बा रहेको सरयू–कमला एक्सप्रेसमा एक हजारभन्दा बढी तीर्थयात्री सवार रहेको अनुमान छ।

नेपाल रेल्वे कम्पनीका अनुसार रेल र तीर्थयात्रीलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ। स्वागतका लागि सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ। अब तीर्थयात्रीहरू जानकी मन्दिरलगायतका धार्मिक स्थलमा पुगेर पूजाआजा तथा दर्शन गर्नेछन्। जानकी मन्दिरमा पनि उनीहरूको स्वागत र दर्शनको विशेष व्यवस्था मिलाइएको छ।

तर जनकपुरमा उनीहरूको बसाइ लामो हुने छैन। बिहान आइपुगेका तीर्थयात्रीले करिब तीन घण्टाभित्रै जनकपुरका धार्मिक स्थल अवलोकन गरेर फर्किनुपर्नेछ। दिउँसो साढे १२ बजेसम्म रेल्वे स्टेशनमा फर्किने र खाजा खाएपछि दिउँसो १ बजेसम्म रेल अयोध्याका लागि प्रस्थान गर्ने तालिका छ। त्यसैले जनकपुरमा तीर्थयात्रीको स्वागतसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

अयोध्या भगवान् रामको जन्मभूमि हो भने जनकपुर माता जानकीको जन्मभूमि। धार्मिक मान्यताअनुसार अयोध्या जानकीको ससुराली र जनकपुर रामको ससुराली हो। यही धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले जनकपुर–अयोध्या रेल सेवा सुरु गरिएको हो।


Facebook Comments