...त्यसपछि ६५ वर्षकी विष्णुमाया कापी र कलम बोकेर विद्यालय गईन
No Author Assigned | १० महिना अगाडि
रोङ गाउँपालिका-३ की विष्णुकुमारी गुरुङले ६५ वर्षको उमेरमा विद्यालय जान थालेकी छन्। शिक्षाको महत्वलाई बुझ्दै उनले अब कापी र कलम बोकेर विद्यालयमा सहभागी हुने निर्णय गरेकी छन्। उनी आफैंले पढ्न नपाएको पछुतो गर्दै नाति-नातिनीका लागि विद्यालय धाउने निर्णय गरेकी हुन्।
गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि लागू गरेको ‘’अभिभावक शिक्षा कार्यक्रम'' अन्तर्गत प्रत्येक महिनाको एक दिन अभिभावकलाई विद्यालय जानुपर्ने व्यवस्था गरिएको छ। यस कार्यक्रमले विद्यार्थीहरूको पढाइमा अभिभावकको सरोकार बढाउन र शिक्षामा सुधार ल्याउन मद्दत पुर्याएको छ।
गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोका अनुसार, यो कार्यक्रममार्फत अभिभावकलाई आफ्ना छोराछोरीको पढाइको अवस्था बुझ्न र घरको काम सिकाउने प्रयास गरिएको छ। ३० वटा सामुदायिक विद्यालयमा २,४०० विद्यार्थी अध्ययनरत छन् र हालसम्म १३ वटा माध्यमिक विद्यालयका ५५० जना अभिभावकलाई विद्यालय शिक्षाबारे जानकारी दिइएको छ।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा, एक रुपियाँ बचत अभियान, र स्थानीय पाठ्यक्रमको कार्यान्वयन गर्दै शैक्षिक संस्थाको क्षमता विकासमा जोड दिएको छ। यस वर्षको बजेटमा दुई करोड ५० लाख रुपियाँ विनियोजन गरिएको छ। उपाध्यक्ष विष्णुमाया खवासले अभिभावक शिक्षाले विद्यार्थीको अवस्था सुधारमा मद्दत पुर्याएको बताइन्।